कविता : सर्पकोे खोजीमा

काठमाडौँ
अझ भनौँ
यो सिङ्गै देश नै
दिन पर दिन
कालो–नीलो हुँदै गैरहेको छ
सर्पदंशित मान्छेझैँ

म सर्पको खोजीमा छु
हो, म ती विषालु सर्पहरूको खोजीमा
धेरै अघिदेखि हिँडिरेहछु
असन पसेर जसले
नुन–चामलका बोरा
र तेलका टिनलाई डसे
बजार घुमेर मोटा कपडा
र इँटा सिमेन्ट–सिमेन्ट–छड र कर्कटपातालाई डसे
स्लाइनको नली भएर थुपै्र बिरामीलाई
बालबालिकाका दूधका डब्बालाई डसे
विद्यालय पसेर देशका भविष्यलाई डसे
हाकिमको कलमको निब भएर असंख्य कर्मचारीलाई डसे
मलाई खोजी छ
हो, मलाई खोजी छ
ती काला विषालु सर्पहरूको
एक युग वित्यो
म हातमा लौरो बोकी
गल्ली गल्ली
चोक चोक
वन जङ्गल
र बाटाघाटामा ती सर्पको खोजीमा हिँडेको
तर सर्पका साटामा मैले बरु
गल्ली, चोक, वन, जङगल र बाटाघाटाहरू पो दंशित पाएँ
अब म बढी सतर्कताको साथ खोज्दैछु
पछ्याउँदैछु
ती छदमभेषी सर्प
जसले सभ्य रूपमा सभ्यतालाई र
पुजारी भई देवतालाई डसे
मलाई खोजी छ
जसले भिडियो भित्र पसी
नीला सर्प भई हाम्रो संस्कृतिलाई डसे
नदेखिएका पनि होइनन् ती अँध्यारामा
तर तर मेरो प्रहारभन्दा अघि
दुलोभित्र पस्थे
तिनलाई पनि नभत्काएको होइन मैल
तर मैले पछ्याउँदा पछ्याउँदै पनि
ती भागेर पर्खाल भित्र पसे
पर्खाल भत्त्काएँ
तर अफशोच !
ती यति अग्ला पर्खालभित्र पसे
जसलाई म
न त उक्लिन सक्छु
न भित्र पस्न सक्छु
मलाई थाहा छ
व्यर्थ छ मेरो अभियान
सर्प मार्नु ता परै जाओस
बरु कुनै पनि क्षण
म आफै डसिन सक्छु
तै पनि बसेको छु म पर्खाल कुरेर
पर्खाल घुरेर
कारण मालई खोजी छ ती सर्पको
जसले यो सुन्दर देशलाई बारम्बार डसिरहेछ
डसिरहेछ ।

-भुपी शेरचन