करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ। गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट शुक्रबारबाट खुला भएको हो। 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिएकी हुन्। 
 
‘अघिल्लो निर्णयलाई पुनरावलोकन गरिएको छ’, पत्रकार सम्मेलनमा मन्त्री अर्यालले भनिन्, ‘घर व्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि निर्णयको पुर्नविचार गरिएको छ।’ 

अर्यालले उक्त निर्णय तत्कालका लागि पुनरावलोकन गरिएको भने प्रष्ट पार्दै कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने बताएकी छन्। 

‘खेतीयोग्य जग्गा कुनै प्रकारले प्लटिङ गरी घरेडीको रुपमा कित्ताकाट गरी बिक्री वितरण गर्न वा हक हस्तान्तरण गर्नेगरी लिखत पास गरिने छैन’, उनले भनिन्। 

खेतियोग्य जमिन भए नभएको पहिचान भने स्थानीय तहले गर्नेछ। त्यसका लागि स्थानीय तहमा प्राविधिक जनशक्ति पठाइने मन्त्री अर्यालको भनाइ छ।