मंगलबार दुर्घटनामा निधन भएका नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको आज अन्त्येष्टि गरिएको छ । उनको मध्यान्न २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनका कान्छा छोरा कविनले दागबत्ती दिएका थिए । अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रदाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा अशोक शर्मा, ओम प्रतिक, रमेश उप्रेती, धीरन शाक्य, पुरन जोशी, टीका पहाडी, उमेश खड्का, सुभेच्छा थापा, आकाश अधिकारी लगायत कलाकर्मी पुगको थिए । । तर पछिल्लो पुस्तामा भने अभिनेता सलोन बस्नेत, सबिन श्रेष्ठ, सुलेमान शंकर बाहेक अरु कलाकार देखिएनन् । श्रद्धाञ्जली कार्यक्रममा उनलाई कलाकार संघको र राष्ट्रिय झण्डा ओढाइएको थियो । ललितपुरको टिकाथलीस्थित आफ्नै घरअगाडि रुखले किचेर घाइते भएका उनलाई ललितपुरस्थित बिएण्डबी अस्पतलाले मृत घोषणा गरेका थियो । चलचित्र छायाँकनका लागि बोगटी स्टुडियो निर्माण गरेका उनी साना तथा ठूलापर्दाका राम्रा कलाकार मानिन्थे । उनी ‘स्वाभिमान’ र ‘माया गर ल’ चलचित्रका निर्माता पनि हुन् । दर्जन बढी चलचित्र तथा टेलिश्रृंखलामा अभिनय गरेका उनी कलाकार संघको चौधौं महाधिवशेनबाट चलचित्र कलाकार संघका अध्यक्षमा निर्वाचित भएका थिए । आफ्नै निजी लगानीमा कलाकार संघको भवन निर्माणको मुद्दा उठाएर उनी संघको नेतृत्वमा पुगेका थिए । भवनका लागि जग्गाको ब्यवस्थामा दिनरात खटिएका उनले भवन बनाएर बुझाउने आफ्नो प्रतिबद्धता पुरा गर्न संघको महाधिवेशन समेत केही महिनाका लागि सारेका थिए । उनको कलाकार संघ आफ्नै भवनमा बसेको हेर्ने इच्छा थियो । सो इच्छा भने अधुरै रह्यो ।