काठमाडौं, २३ पुस
काठमाडौं महानगरपालिका-३२ जडीबुटी चोकस्थित सडक किनाराबाट धनुषा लक्ष्मीनिया गाउँपालिका-८ बस्ने १९ वर्षीय अंकितकुमार झालाई नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ४५ एम्पुल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सर्लाही पर्सा गाउँपालिका घर भएका १९ वर्षीय सुनिल झालाई नियन्त्रित लागूऔषध नाइट्रोभेट ४७ एम्पुल तथा स्टाच १६ थान र बर्दिया मधुवन गाउँपालिका घर भएका २९ वर्षीय सुरेश लामिछानेलाई अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा काठमाडौँतर्फ आउँदै गरेको ना. ५ ख ४१९१ नम्बरको बसमा सवार सुनिल र ना. ७ ख २७७६ नम्बरको बसमा सवार सुरेशलाई लुकाईछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित शान्ती गेटबाट बुटवल उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय केशव खनाल र तिलोत्तमा नगरपालिका-२ बस्ने ४० वर्षीय सोमबहादुर तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्रोभेट १५ एम्पुल, स्पास्मो १६ एम्पुल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेलहियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।