तेस्रो मुलुकका व्यापारी र उपभोक्ताको मागअनुसार नेपाली व्यवसायीले तयारी चियाको विविधतालाई प्राथमिकता दिन थालेका छन्। विदेशी व्यापारीले यसअघिसम्म अर्गानिकको आधारभूत सर्तमा चित्त बुझाउने गरेपनि अचेल चियाको प्रकार रोज्न थालेका हुन्।
जर्मनी, चीन, रुस, अमेरिका, नेदरल्यान्डलगायत मुलुकबाट बर्सेनि तयारी चिया किन्न आउने व्यापारी केही वर्षअघिसम्म उत्पादित चिया अर्गानिक भए–नभएकामा बढी चनाखो रहन्थे। तर, अहिले अर्गानिकमा पनि ग्रिन, ब्ल्याक, ह्वाइट, गोल्डेन कस्तो चिया हो भन्नेबारे उनीहरूले बढी ध्यान दिन थालेको चिया उद्योगी बताउँछन्। ह्वाइट, ग्रिन र गोल्डेन टी विदेशी व्यापारीको पहिलो रोजाइ हुने गरेको छ। तर, ह्वाइट टी उत्पादन चाहिँ ज्यादै थोरै मात्रामा हुने गरेकाले ग्रिन र गोल्डेन टी उनीहरूले रोजेर लैजाने गरेको व्यवसायीले बताएका छन्।
भारतीयबाहेक तेस्रो मुलुकका व्यापारीको रोजाइ क्रस टियर कर्ल (सिटिसी) भन्दा अर्थोडक्स चियामै हुन्छ। बर्सेनि झन्डै करोड किलो उत्पादन हुने अर्थोडक्स चियामध्ये अर्गानिकको हिस्सा तीन लाख किलो हाराहारी मात्रै रहेको तथ्यांक छ। तर, व्यापारीको मुख्य आकर्षण चाहिँ त्यही अर्गानिक चिया हुने गरेको चिया उद्यमी सरद सुब्बा बताउँछन्। 
विविध प्रकारमा उत्पादन गरिएको चिया अमेरिका, बेलायत, जापान, चेक गणतन्त्र, स्लोभाकिया, फ्रान्सलगायत देशमा निर्यात भइरहेको नागरिकन्यूज डटकमले लेखेको छ।