काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डेढ वर्षको अवधिमा धेरै काम गरिसकेको बताएका छन् । ‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं’, उनले भने, ‘हिजोभन्दा आज धेरै कामहरु भएका छन् । यथार्थ धरातलमा रहेर समीक्षा गर्नुपर्छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मेयर शाक्यले सडकको पुनर्निर्माण भइसकेको पनि बताए । ‘यो आर्थिक वर्षलाई हामीले पूर्वाधार वर्ष घोषणा गरेर अघि बढेका छौं । महानगरले जिम्मा पाएको सहायक सडक बनाउने काम लगभग पूरा भएको छ’, उनले भने, ‘सडक बनाउने कामको लागि अब ५ वर्ष पर्खिनुपर्दैन ।’ उनले आफू आएपछि ६० प्रतिशत काम सम्पन्न भइसकेको पनि दाबी गरे । 

साक्षात्कारमा उनले पुनर्निर्माणसम्बन्धी काममा सम्पदा पुनर्निर्माणको २/४ काम बाँकी रहेको सुनाए ‘धरहराको काम सुरु भइसकेको छ । दरबार हाईस्कुल पुनर्निर्माण सुरु भइसक्यो । रानीपोखरी र काष्ठमण्डप मन्दिरको पनि काम सुरु हुन्छ’, शाक्यले भने, ‘काठमाडौं महानगरको भवन निर्माणको पनि काम छिट्टै सुरु हुन्छ । विवादले सुरु हुन नसकेको हो ।’

मेलम्ची खानेपानी परियोजनाको काम र सडक विस्तारको कामले गर्दा काम गर्न केही अप्ठ्यारो भएको उनले गुनासो सुनाए । ‘जोरपाटीमा फोहोर थुप्रियो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, सितापाइलाको सडक हिलाम्य भयो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, सानेपाका सडक धुलाम्य भयो भनेपनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, त्यहाँ नगरपालिकाहरु छन् नि’, उनले भने, 
‘सडक विस्तारको कामले काठमाडौं धुलोमैलो भएको छ । काठमाडौंलाई धुलोमुक्त बनाउँछौं भनेका थियौं । मेलम्चीले आफ्नो काम तत्काल सम्पन्न नगर्दा त्यसको प्रत्यक्ष असर काठमाडौं महानगरलाई परिरहेको छ ।’

उनले काठमाडौंका सम्पदा पुनर्निर्माणमा महानगरले कुनै कसर बाँकी नराखेको पनि सुनाए । ‘काष्ठमण्डप, धरहरा र रानीपोखरीको निर्माण काम छिटो सुरु हुन्छ । यी सम्पदाहरु छिटो बनिदियोस भनेर आवाज उठिरहेको छ’, उनले भने । 

प्रदेश र संघीय सरकारले गर्नुपर्ने काम पनि काठमाडौं महानगरले गरिरहेको बताउँदै उनले यसको लागि सरकारले आफूहरुलाई धन्यवाद दिनुपर्ने धारणा राखे । उनले भने,‘फोहोर मैलाको सवालमा अर्को वर्षासम्म काठमाडौं हिलो नहुनेगरि हामीले काम गरिरहेका छौं । सुरुका केही दिन र केही समय धेरै अन्योल भयो ।’

काठमाडौंका विभिन्न सडकहरुमा फोहोर थुप्रिँदा यसबारेमा काठमाडौंको मेयर र महानगरपालिकालाई भन्नु स्वभाविक भएको उल्लेख गर्दै उनले भने, ‘जोसँग आश छ, जसलाई विश्वास गरिन्छ, उसैले भन्ने हो । तर, काठमाडौं महानगरपालिकाले आफ्नो मात्रै हाईन, प्रदेश र संघीय सरकारको पनि काम गरिरहेको छ । उहाँहरुले गर्नुपर्ने दायित्व पूरा गरिरहेका छौं ।’

काठमाडौं महानगरले फोहोरको व्यवस्थापन गर्न छोडिदिने हो भने सिँगो काठमाडौं उपत्यका दुर्गन्धित हुने उनको भनाइ छ । ‘उपत्यकामात्रै होइन, काभ्रे, नुवाकोट र धादिङपनि दुर्गन्धित हुन्छ । हामी त्यसको भएको हेर्न चाहँदैनौं । हामी गाली खाएरपनि आफ्नो दायित्व पूरा गर्न चाहन्छौं’, शाक्यले भने, ‘लामो समयपछि हामीले उपत्यका नगरपालिका फोरम गठन गरेका छौं । अब उपत्यकाको फोहोर व्यवस्थापन, सडक व्यवस्थापन र उपत्यकाका साझा नदिहरुको व्यवस्थापनलाई एकीकृत रुपमा अगाडि बढाउनुपर्छ भनेर हामीले फोरम बनाइसकेका छौं ।’

उनले मोनो रेल चलाउनेबारे सम्भाव्यता अध्ययन पूरा भसकेको बताउँदै अहिले प्राविधिक अध्ययनको काम जारी रहेको बताए । ‘नेपालमा मोनो रेल विज्ञ कोही छैनन् । हामीले बुट मोडलमा बनाउने तयारी गरेका छौं’, उनले भने । 

शाक्यले महानगरले चाँडै काठमाडौंका विभिन्न ठाउँहरु खासगरी नाकाहरुमा पार्किङ भवन बनाउने पनि तयारी गरिरहेको जनाए । ‘यसका लागि ठेक्का प्रक्रिया सुरु भइसकेको छ’, उनले भने । महानगरले जिआईएस डाटा कलेक्शनको लागि २२ करोड रुपैयाँ विनियोजन गरिसकेको पनि शाक्यले बताए । 

काठमाडौंलाई स्वच्छ, धुवाँ र धुलोमुक्त सहर बनाउनको लागि महानगरले जेट र ब्रुमरजस्ता आवश्यक उपकरण खरिद गरिसकेको जनाउँदै उनले भने,‘अहिले ५ वटा ब्रुमर आउने प्रक्रियामा छन् । अहिले मासिक २५ करोड रुपैयाँ सफाईका कर्मचारीको लागि खर्च भइरहेको छ । तर, पनि काठमाडौं सफा भइरहेको छैन ।’

(अन्नपुर्ण पोस्ट )