माटो प्रदूषणको समाधान बनौँ भन्ने नारासाथ पाँचौँ विश्व माटो दिवस  बुधबार मनाइएको छ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको गोरखापत्र अनलाइनले लेखेको छ। 
थाइल्यान्डका राजा भूमिबोल अदुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उहाँकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो। माटो दिवस मनाउन थालिए पनि विश्वमा माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएकाले त्यसप्रति सबैको चिन्ता बढेको हो। नेपालको माटोको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको माटो विज्ञहरू बताउँछन्। देशका ५५ वटा जिल्लामा ३२ वर्षअघि माटोको सर्भे भएको थियो। सोही सर्भेको आधारमा माटोको मूल्याङ्कन गरी विभिन्न कार्यमा प्रयोग गरिरहेको छ। अर्को सर्भे गर्ने भइसकेको छ तर सरकारले त्यसमा चासो नदिएको कारण माटोसम्बन्धी काम प्रभावकारी हुन नसकेको जानकारहरू बताउँछन्। 

किसान तथा अन्य क्षेत्रका सरोकारवाला व्यक्तिलाई कुनै सिफारिस दिनुपर्दा पुरानो सर्भेलाई नै आधार मानेर दिनुपरेको नार्कका माटो विज्ञान महाशाखा वरिष्ठ वैज्ञानिक प्रगुनसुन्दर सैँजु बताउनुहुन्छ। पुरानै सर्भेका आधारमा सिफारिस गर्दा परीक्षण प्रभावकारी हुन नसकेको बताउँदै उहाँले भन्नुभयो, विश्वमा रहेको मापदण्डलाई पनि हामीले आधार मानेर माटो परीक्षण गरेका हुन्छौँ। 

माटो सर्भे गर्ने बेला भइसकेको छ तर यसप्रति सरकारले चासो नदिएको उहाँको गुनासो रहेको छ। ७५ वटै जिल्लामा माटो परीक्षण गर्दा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको देखिन्छ। यस्तै अवस्था रही रह्यो भने ८०–९० वर्षभित्र एउटा पनि जमिन खेतीयोग्य नरहने वैज्ञानिकहरूको तर्क छ। 

दस वर्षअघि माटोमा अम्लीयपन ६३ प्रतिशत रहेकोमा अहिले ६९ प्रतिशत पुगेको दाबी वैज्ञानिकहरूको रहेको छ। अम्लीयपन बढ्दा प्राङ्गारिक पदार्थ घट्छ र उर्वराशक्ति पनि कमजोर हुन्छ। नाइट्रोजन, फस्फोरस र पोटास माटोमा हुने प्राङ्गारिक पदार्थ हुन्। यीबाहेक अन्य १३ प्रकारका सूक्ष्म र सहायक तìवले पनि माटोलाई उर्वर बनाउँछन्। 

नक्सा तयार गरिएका जिल्लाहरूको सरांशमा उर्वराशक्तिको स्थिति हेर्दा हिमाल, पहाडभन्दा तराई मधेसको माटोको उर्वरा शक्ति कमजोर देखिएको छ। माटो व्यवस्थापन निर्देशनालयका अनुसार बर्दिया, कैलाली, महोत्तरी, चितवन, रूपन्देही, नवलपरासी, कञ्चनपुर, बाँकीमा उर्वरा शक्ति एकदमै कम रहेको छ। गुणस्तरीय माटोका लागि प्राङ्गारिक स्रोत दुई देखि पाँच प्रतिशतसम्म हुनुपर्नेमा तर यहाँ एक प्रतिशतभन्दा कम रहेको विभिन्न परीक्षणले देखाएको छ। 

गुणस्तरीय माटोमा ६.६ देखि ७.५ पीएच, प्राङ्गारिक पदार्थ दुई देखि पाँच प्रतिशत, नाइट्रोजन ०.१ देखि ०.२२ प्रतिशत, फस्फोरस ३५ देखि ५५ किलो प्रतिहेक्टर र पोटास १११ देखि २८१ किलो प्रतिहेक्टर हुनुपर्ने माटो व्यवस्थापन निर्देशनालयले जनाएको छ। 

माटो विज्ञ कृष्णहरि मास्केका अनुसार माटो बिग्रिनुको धेरै कारणमध्ये किसानले रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गर्नु रहेको छ। माटो परीक्षण नगरिकन जथाभावी प्राङ्गरिक मलको प्रयोग गरेको हुन्छ, जसले गर्दा दिनदिनै माटोको उर्वरा शक्तिमा ह्रास आएको उहाँ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, देशको माटोको अवस्था सन्तोषजनक छैन। ९५ प्रतिशत खानेकुरा माटोमार्फत प्राप्त हुन्छ तर माटो दूषित भएका कारणले मानिस अस्वस्थकर हुँदै गएको युएनले जनाएको छ।