प्रधानसेनापति पूर्णचन्द्र थापाको आदेशमा 
सेनाका शैक्षिक प्रमाणपत्र र नागरिकता जाँचिदै
काठमाडौं, । नेपाली सेनाको उच्च ओहदा अधिकारीहरुले पनि नक्कली शैक्षिक पेस गरी जागिर खाइरहेको गुनासो बढ्न थालेपछि नेपाली सेनाका उच्च अधिकारीहरुको समेत शैक्षिक प्रमाण–पत्र जाँचिने भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको आदेशमा सेनाले देशैभरका सबै अधिकृतहरूको शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेको स्रोतले जानकारी दिएको छ ।

सोही निर्देशन अनुसार नेपाली सेनाका अधिकृतदेखिमाथिका सबैले शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण पुनः सैनिक मुख्यालयमा पठाउन थालेको स्रोतको दावी छ ।

एक साताअघि मुख्यालयले सबै शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण मुख्यालयमा पठाउन मातहतका सबै निकायलाई पत्राचार गरेको जनाइएको छ ।

थापाले सेनामा भ्रष्टाचार नियन्त्रणका लागि सैनिक अदालतलाई सक्रिय बनाउने, नक्कली प्रमाणपत्रधारीहरूको छानबिन गर्ने, फास्ट ट्रयाक बढुवा प्रणालीलाई सुधार गर्ने र खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताउँदै आएका छन् । प्रधानसेनापति थापाको निर्देशनपछि सैनिक सचिवको कार्यालयले मातहतका सबै निकायमा लिखित पत्राचार गरेको हो ।

केन्द्रको पत्राचारअनुसार देशभरी रहेका पृतना तथा गुल्मलगायतले मातहतमा रहेका अधिकारीलाई जानकारी गराई प्रमाणपत्र संकलन कार्य शुरु गरिसकेको जनाइएको छ ।

सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सबै सैनिक अधिकृतको शैक्षिक योग्यताको प्रमाणपत्र अपडेटका लागि पत्राचार गरिएको जानकारी दिएका छन् । उनी भन्छन्, ‘यो नियमित प्रक्रिया हो, अहिले पनि हामीले सबै अधिकृतहरूको विवरण माग गरेका छौँ ।’

रोकियो अनलाइन डिग्रीको बढुवा
लोकसेवा आयोगले अनलाइन र खुला विश्व विद्यालयबाट उत्तीर्ण भएको प्रमाणपत्रलाई मान्यता नदिएको सन्दर्भमा सेनाले पनि सोही नियम लागू गरेको छ । प्रधानसेनापति थापाले अनलाइन डिग्री भएकाहरूको हकमा पनि छानबिन गर्न निर्देशन दिएका छन् ।

जसका कारण रथीसम्मको बढुवा र सरुवा समेत रोकिएको सैनिक सम्बद्ध स्रोतले जानकारी दिएको छ । एक रथी पद खाली भएको करिब दुई महिना बित्न लाग्दा समेत कसैलाई बढुवा गरिएको छैन ।

२५ भदौमा थापा महाथरीमा बढुवा भएपछि खाली रहेको रथीमा कसैको बढुवा भएको छैन । बढुवाको सूचीमा रहेका उपरथी अनुज बस्न्यात रथी पदको दाबेदार हुन् । तर, उनलाई बढुवा नगर्नुको कारण अनलाइन डिग्री रहेको स्रोतले बताएको छ ।