नेपालीहरुको मौलिक सम्वत नेपाल सम्वत ११३९ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना र्‍याली निकालेको छ। दिपावली अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा आज पोखरामा भिन्तुना र्‍याली निकालिएको हो।

पोखरा नेवाःखलको आयोजनमा भएको र्‍यालीमा विभिन्न जातजातिका झाँकीसहित पोखरा नगर परिक्रमा गरिएको छ। र्‍याली पोखराको टुँडिखेलबाट सुरु भई पोखराको नेवा छेँ भिमसेन टोलमा पुगेर शुभकामना सभामा परिणत भएको थियो। भिन्तुना र्‍यालीमा बिभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो। नेपाल सम्वत नेपाली जनताको छोराले चलाएकाले यसलाई कामकाजको सम्वत बनाउनु पर्ने संस्कृतिकर्मी तिर्थ श्रेष्ठले बताए।

नेपाल सम्वत राष्ट्रिय विभूति शंखधर साख्वाले चलाएका हुन्। साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौं, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर यो सम्वत चलाएको मानिन्छ। सरकारले नेपाल सम्वतका प्रवर्द्धक साख्वालाई विक्रम सम्वत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो।

(सेतोपाटी)