आठ नाट्य संस्था मिलेर ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव– २०७५’ आयोजना गर्ने भएका छन्। मण्डला थिएटरमा आयोजित पत्रकार भेटघाटमा महोत्सवबारे जानकारी गराइएको हो। महोत्सव १३ फागुनदेखि २० गतेसम्म आयोजना हुनेछ। आयोजकमध्येका घिमिरे युवराजका अनुसार महोत्सव उद्घाटन समारोहमा १० जना अग्रज नाट्यकर्मीलाई जनही १० हजार रुपैयाँसहित नाट्य योगदान सम्मानबाट सम्मानित गरिनेछ।

महोत्सवको मुख्य आयोजक समूहमा नाट्यकर्मी अनुप बराल, कवि गीतकार विप्लव प्रतीक, नाट्यकर्मी विमल सुवेदी, चित्रकार अस्मिता रञ्जित र जीआईजेडबाट माइकल थोनहाउजर छन्। आठ नाट्य संस्थाबाट नाटक आयोजकमा राजकुमार पुडासैनी, राज शाह, केदार श्रेष्ठ, पवित्रा खड्का, आकांक्षा कार्की, विजय बराललगायत छन्। महोत्सवमा नाटक सहभागिताका लागि पुस १६ सम्म नाटकको आलेख र अभ्यासको भिडियो पठाइसक्नुपर्ने आयोजकले जनाएको छ।

महोत्सव संयोजक सोमनाथ खनालका अनुसार ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५’ मा नेपालका करिब २० र विदेशका १० गरी ३० नाटक मञ्चन गरिनेछ। नाटक अभ्यास र तयारीका लागि एकल कलाकार भएको नाटकलाई ५० हजार रुपैयाँ र बहुलकलाकार भएको नाटकलाई एक लाख रुपैयाँ प्रदान गरिनेछ।

महोत्सव निर्देशक राजन खतिवडाले निजी नाट्य संस्थाबाट पनि अन्तर्राष्ट्रिय स्तरको महोत्सव गर्न सकिन्छ भन्ने उद्देश्यले आफूहरू लागेको बताए। महोत्सव काठमाडौंको मण्डला थिएटर, बत्तीसपुतलीस्थित गोठाले नाटकघर (शिल्पी थिएटर), कालिकास्थानस्थित सर्वनाम थिएटर, टेकुस्थित कौसी थिएटर र कीर्तिपुरस्थित थिएटर मलमा हुनेछ। यी पाँच नाट्यसंस्थासहित कथाघर, एक्टर्स स्टुडियो र वान वल्र्ड थिएटरले संयुक्त रूपमा महोत्सव आयोजना गर्न लागेका हुन्।

करिब दुई करोडको बजेटमा यो महोत्सव सम्पन्न हुँदै छ। एक करोड बराबर आयोजक संस्थाले स्थल र श्रमदान गर्नेछ। बाँकी एक करोडको सहयोग जीआईजेडको नागरिक शान्ति कार्यक्रमसहित विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सहयोग लिइने बताइएको छ। नाट्यकर्मी अनुप बरालले यो महोत्सवले नेपाली र अन्तर्राष्ट्रिय नाटकलाई जोड्ने बताए। यसले सक्रिय नेपाली नाट्यकर्मीलाई अझ सक्रिय तुल्याउने पनि उनले बताए।

(अन्नपुर्ण पोस्ट)