सांसदहरु द्वारा गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नआएको आरोप

[[IMG_ALT]]

www.bsgnews.com | National News | Bhadra 29

काठमाडौं : सांसदहरुले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जवाफ चित्तबुझ्दो नआएको बताएका छन् । गृहमन्त्रीको जवाफपछि प्रश्न गर्दै सांसदहरुले मन्त्री थापाले सन्तोषजनक जवाफ दिन नसकेको बताए । सांसद राजेन्द्रप्रसाद लिंगदेनले निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धानमा सरकार अलमलिनु अचम्म भएको बताए । ‘प्रारम्भीक अनुसन्धानकर्ताहरुलाई खास अभियुक्त थाहा छ, उनीहरुमाथि नै छानबिन गर्नुपर्छ’ उनले भने ।
संसाद सुजाता परियारले मन्त्री थापाले दिएको जवाफमा विश्वास लाग्न नसकेको बताइन् । ‘वास्तविक अपराधी पत्ता लागिसक्दा पनि कानुनी कठगरामा नल्याइनु सरकारको गैरजिममेवारी हो ।’ उनले भनिन्, ‘कहिलेसम्म हत्यारा पत्ता लाग्छ ?
सांसद दिलेन्द्रप्रसाद बडुले छानबिन समितिका सदस्यलाई धम्काउने व्यक्तिबाटै अनुसन्धान गर्नुपर्ने बताए ।
सांसद पार्वती डिसी चौधरीले गृहमन्त्रीले गोलमटोल तरिकाले जवाफ दिएको भन्दै छानबिन बम दिदीबहिनीको घरबाटै हुनुपर्ने तर त्यसो नभएको बताइन् । संसद बालकृष्ण खाँडले निर्मला पन्तको बलात्कार विषयमा सरकारले अनुसन्धान र कारवाही नगरेको बताए ।
सांसद राजकिशोर यादवले यो देशमा सरकार नभएको, गृहप्रशासन नभएको आरोप लगाए । जताततै बलात्कार र बलात्कारपछि हत्या बढेको तर सरकारले अपराधीलाई कारवाही गर्न नसकेको बताए । कञ्चनपुकी १३ वर्षीय निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउनुका सट्टा गृहमन्त्री थापाले गोलमटोल जवाफ दिएको उनले आरोप लगाए ।सांसद चन्द्रा चौधरीले ५१ दिनसम्म बलात्कारी पत्ता लगाउन नसक्ने सरकारको गैरजिम्मेवारीपन भएको बताइन् ।
सांसद लक्ष्मणलाल कर्णले बर्दियामा हिरासतमा रोग लागेर मृत्यु भएको कुरा शंकास्पद भएको बताए । पोस्टमार्टम भएको कुरा पनि मन्त्रीको जवाफमा नआएको भन्दै हिरासतमा मृत्युप्रकरणबारे छानबिन गर्न माग गरे।

सांसद मीनबहादुर विश्वकर्मले निर्मला पन्तको बलात्कारपछि राज्य र प्रहरी प्रशासन र राजनीतिक दलका ठूला व्यक्तिहरुले प्रमाण नष्ट गर्दै गएको र त्यसमा गृहप्रशासन मुकदर्शक भएको बताए ।

सांसद प्रेम सुवालले राति नौ बजे छोरी हराएको खबर गर्दा वेवास्ता गर्ने प्रहरी र बम दिदीबहिनीमाथि प्रस्टरुपमा छानिबन हुन नसकेको बताए ।

सांसद दुर्गा पौडेलले बम दिदीबहिनीमाथि अनुसन्धान प्रायाप्त नभएको बताइन् ।

सांसद सञ्जय गौतमले गृहमन्त्री रामबहादुर थापा बादलको चित्त बुझ्दो जवाफ नआएको बताए । संसाद वृन्दा पाण्डेले जनप्रतिनिधि नै हिंसा र अपराधमा लागेको बताइन् ।