व्यङ्ग्य निबन्ध : अवसरवादी दर्शन

मानिसमा जब नैतिक बलको ह्रास हुँदै जान्छ, तब उसले आफ्नोे जीवनलाई अवसरवादी दर्शनको गोरेटोमा डोर्याउन थाल्छ । किनभने जुनसुकै दार्शनिक सिद्धान्तको पनि आधार स्तम्भ नैतिक बल हो र यसबाट बिचलित भएकाहरूको लागि समाउने हाँगो अवसरवादिता शिवाय अरू केही बाँकी रहँदैन । कृष्णको कर्मवाद, माक्र्सको साम्यवाद र गान्धीको सर्वाेदयवाद जुनसुकै धार्मिक या राजनैतिकवाद पनि त्यहीँसम्म टिकेका देखिन्छन्, जहाँसम्म तिनका अनुयाईहरूमा नैतिक बल रहेको थियो । त्यसपछि सबैको समष्टि अवसरवादले विश्वका कुनाकाप्चा ढाक्दै आएका कुरा डार्बिनको विकासवाद सँगसँगै हामीले देख्तै आएका छौँ । आज एकतिर मानवतावादको चार्टरमा सही गर्न संयुक्त राष्ट्रसङ्घका जेठाजेठा सदस्यहरू हतियारको होडमा तँछाड–मछाड गर्दैछन् भने अर्काेतिर वाङडुङ सम्मेलनमा पञ्चशीलको सूत्र निर्माण गर्न मोटामोटा सरकारहरू सीमा क्षेत्रको तानातान गर्दै छन् । मानव अधिकारको नारा र पञ्चशीलका कुराहरूको क्रियान्विती यी आधारमा छन् ।

आज अवसरवादी दर्शनमा आधारित हुँदै आएकोले मानव समाजकै नैतिकबल क्रमशः सेलाउँदै गएको अनुभव हुनु स्वाभाविक छ । यसरी मानव अन्तर्राष्ट्रिय सहयोगको युग भनिए पनि कामले अन्तर्राष्ट्रिय अवसरवादिताको युग हुन गएको वर्तमान समयमा नेपाली समाजमा पनि अवसरवादी दर्शनको व्यापक प्रभाव जम्नु कत्ति अचम्म लाग्दो कुरा होइन ।

हाम्रो देशमा खास गरेर ०७ सालको राजनीतिक क्रान्तिदेखि विशेष गरी अवसरवादको ध्वजा–पताका देशका बुद्धिजीवीहरूले फहराउँदै आएका छन् । कुना–काप्चामा बस्ने गरीब अनपढ व्यक्तिहरूमा यो वादले छुन सकेको छैन तापनि धनीमानी देखेसुनेका जमिन्दार हुन् वा कवि र उच्चउच्च जागिरदारहरूमा अवसरवादले छापा मार्दै आएको छ । त्रिभुवनलाई पदच्युत गरी राणाको अकण्टक राज्यमा बूढी औँलाको चक्र खियुुञ्जेल थिचेर सही गर्ने व्यक्तिहरू पर्सिपल्टदेखि प्रजातन्त्रको प्रहरी भनिन पुगेका र प्रजातन्त्रको उदयपछि अर्काको घरभित्र पसी टाउको पिरोल्न लगाउनेहरू केही समयपछि उनैसँग कुम जोरेर समाजवादका उपासक बनेका थिए । उदारहणहरू हामीले बिर्से पनि इतिहासका पानाले कहिल्यै बिर्सन्नन् । एउटा खुट्टो एकातिर अर्को खुट्टो अर्काेतिर गरेको नेपालवादलाई पनि हुर्कन सजिलो छैन । किनभने वर्तमान समाजको रगरगमा अवसरवादले लाहाछाप मार्दै ल्याएको छ ।

अवसरवादी दर्शनको कुनै लिपिबद्ध सूत्र छैन, तापनि यो दुनियाँमा यति जटिल दर्शन बनेको छ कि कसैले यसको व्याख्या गर्न सक्दैन । (सक्ने भए त राहुल सांकृत्यायनले आफ्नोे ‘दर्शन–दिग्दर्शन’ भन्ने पुस्तकमा उल्लेख गर्दा हुन् नि !) अवसरवादी दर्शनका उपासकहरू मुख्यत दुई भागमा विभाजित हुन्छन् । तिनमध्ये एकथरी जता घाम लाग्यो उतै आङ तताउने हुन्छन् । अर्काेथरी एक हात अगाडि र अर्काे पछाडि राखेर साँचिलो हुँदै दुवैतिरबाट जिउ सधाइ रहेका हुन्छन् । पहिलाथरीबाट कसैलाई केही गराउनु पर्ने मात्रै हो तर पछिल्ला थरीबाट भने जताततै खतरै–खतरा मात्र आइलाग्छन् । ठूलो स्वरले अघिल्तिर र सानो स्वरको पछिल्तिर दुवै पट्टि चीत बन्न खोज्ने परम्परा राजनैतिक व्यक्तिहरूमा मात्रै होइन प्रशासना–धिकारीहरूमा समेत देखिन आयो भने जतिसुकै तीक्ष्ण र साहसी दिमाग पनिबिचैमा अलमलिनु स्वाभाविक हुन जान्छ ।

‘तर…!’ राखेर दुवै पक्षबाट काम, माम र नामको दुनो सोझ्याउन चाहनेहरूको आवादी बढ्दै आएकोले नै ००७ देखि ०२७ सालसम्मको नेपालले कुनै दिन शान्ति र सन्तोषको सास फेर्न नपाएको हो । नेपालको राजनैतिक अस्थिरतामा कुनै एक खास शक्ति या कुनै खास जमातको हात नभएर व्यापक रूपमा बढ्दै गएको अवसरवादको नतिजा स्वरूप यो हुन गएको हो । अवसरवादिताको मूलभूत प्रेरणा दिनेहरूमा भने तथाकथित प्रजातन्त्रवादी र तथाकथित समाजवादीहरूको ठूलो हात भएको मान्नैपर्छ । यसरी दिनप्रतिदिन जरा हाल्दै आएको अवसरवादले नेपालमा बुद्धको भ्रातृत्ववाद, पृथ्वीनारायणको ऐक्यवाद र भीमसेन थापाको राष्ट्रवाद दुब्लो पातलो गराउँदै ल्याएको कुरा गहिरिएर हेरेमा हामी सबैले देख्न सक्छौँ ।

यो पृष्ठभूमिमा ‘सत्य पथमा लागेसम्म पथभ्रष्ट गर्ने जुनसुकै उपाय पनि आफसेआफ बिलाउँछन् ।’ भन्ने सूत्र प्रयोग हुन लागेको छ । किनभने सिद्धान्ततः विरोधीदेखि डराउनु पर्दैन, तर एक्कासी चिप्लो घस्न पुग्नेहरूको हालतमा सतर्क रहनु कुटनीतिज्ञहरूको बुद्धिमानी हो ।

अतः हाम्रो अगाडि देशोत्थान, निर्माण, विकास इत्यादि जुनसुकै लक्ष्य प्राप्तिका लागि पनि नेपाली समाजमा खिया बसेझैँ बसिरहेको यही अवसरवाद बाधक भएको छ ।