काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग जनताले ठुलो अपेक्षा गरेकाले आफूहरु गम्भीरतापूर्वक काममा जुटिरहेको बताएका छन् । राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नहरुको जबाफ दिने क्रममा प्रम ओलीले सरकारलाई अझ तीब्र गतिमा काममा अघि बढाउन भ्रष्टाचार नियन्त्रणमा कठोर बन्ने बताए । ‘हामीसँग असाधारण अवसर आएको छ । प्राकृतिक स्रोतहरु छन्, आकर्षणहरु सिर्जना गर्न सक्यौँ, अवसर दिन सकेनौँ युवालाई’, प्रम ओलीले भने, ‘अब अवसर पनि दिने कुरामा हामी गम्भीर छौँ ।’ ओलीले १० औँ वर्षदेखि भत्किएका सडक बनाउन समय लाग्ने बताउँदै अब सबै खाल्डाखुल्डी पुरिने पनि बताए । ‘उहिलेदेखि भत्किएका बाटा बन्न नसक्दा चार पाँच महिना सरकारले के हेर्यो ? भनेर सोधिएको छ, जनतासँग कत्रो अपेक्षा छ ?’, ओलीले भने, ‘सलल हिँड्ने बाटो बनाउनुपथ्र्यो, चार पाँच महिनामा १० औँ वर्षदेखिका खाल्डा पुर्न सकिएन, मैले पनि पिचमाथिबाट खोलो बगेको देखेको छु ।’ प्रम ओलीले अब सडकका सबै खाल्डा पुरिने बताए । ‘यहीँ उपस्थित भौतिक पूर्वाधार यातायात मन्त्रीलाई पानी जमेका ठाउँ पुर्न भनेको छु । निकासको व्यवस्था गरियोस भनेको छु’, उनले भने, ‘सडकमा खाल्डा पर्छ नै, त्यही भएर हामी चाहिएको हो, अब खाल्डा पुरिन्छ । जनताले गरेको असाधारण विश्वासलाई डगमगाउन दिन्न ।’ सडक बढाउन र खाल्डाखुल्डी पुर्न अदालत पनि बाधक बनेको ओलीले बताए । ‘बाटो बनाउन गयो, अदालतको स्टे अर्डरले पनि हैरान पारेको छ । अदालतको फैसला मान्नै पर्यो’, ओलीले भने ।