भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ । साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ। उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेर जानकारी दिइएको छ। सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ। न्यु फरक्का एक्सप्रेस रेल सेवाको एक रेलका ८ ओटा डिब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना भएको थियो। त्यसमा परी ६ जनाको ज्यान गएको छ भने अरु ३० घाइते भएका छन्। उक्त रेल सेवाका अधिकारीहरुले रेल दुर्घटनाको कारण खोजी भइरहेको जानकारी दिएका छन्। उक्त रेल दुर्घटनापछि भएको क्षति र उद्धार कार्यका दृश्यहरु स्थानीय टेलिभिजनहरुले देखाएका छन्। उक्त रेल भारतको राजधानी नयाँ दिल्लीबाट पश्चिम बंगालको माल्दा सहरतर्फ जाँदै गरेको थियो। रेल सेवाका अधिकारीले दुर्घटनाको छानबिनका लागि एक समिति गठन गरिएको जानकारी दिएका छन्। (कान्तिपुर)