आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै नेपालले विश्वकप छनोटको गणितीय सम्भावना कायम राखेको छ । 


दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा नेपालले घरेलु टोली यूएईलाई ४२ रनले हरायो । जितका लागि नेपालले दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रनमा समेटियो । 

यूएईका लागि आशिफ खानले सर्वाधिक ८२ रन बनाउनुभयो । आर्यन लक्राले ५० र भिरितिया अर्भिन्दले १३ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बलिङमा नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले तीन-तीन विकेट लिनुभयो । आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय २९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

उहाँले सर्वाधिक ७० रन बनाउनुभयो । उहाँले ९९ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । भीमको यो एक दिवसीयमा पहिलो अर्धशतक हो । भीम ‘प्लेयर अफ दि म्याच’ बन्नुभयो । आरिफ शेखले अविजित ४३ रन बनाउनुभयो ।

कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, प्रतिश जिसीले अविजित ११, ओपनर ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाउनुभयो । 

बलिङमा यूएईका जुनेद सिद्धिकीले तीन विकेट लिनुभयो । आर्यन लाक्रा र रोहन मुस्तफाले दुई-दुई विकेट लिनुभयो । कार्तिक मेइयापानले एक विकेट झार्नुभयो ।

जितसँगै नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले ३२ खेलबाट ३२ अंक बनाएको छ । समान खेलबाट ३१ अंक बनाएको यूएई छैटौं स्थानमा झरेको छ । यसअघि नेपाल छैटौं स्थानमा थियो ।

यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) समान खेलबाट नौ अङ्क जोड्दै तालिकाको अन्तिममा छ । युएईपछि सिरिजका बाँकी खेल नेपालमा हुनेछ । नेपाललाई विश्वकपमा छनोट हुन अबका सबै (चार) खेल जित्नु पर्ने बाध्यता छ । 

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्षतीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनु पर्नेछ ।