चितवनको गौरव र गरिमामय प्रस्तुतिको रूपमा स्थापित चितवन महोत्सव आगामी पुस २५ गतेबाट नारायणी नदी किनाराको प्रदर्शनी मैदानमा सुरु हुँदैछ । २०५३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सवको यो  १४ औँ संस्करण हो ।

आगामी पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको विषयमा महोत्सव आयोजक समितिले मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । चितवन जिल्ला र यसका आसपास क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको  प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएको यस महोत्सवमा सदा झैँ यस पटक पनि कृषिलाई पहिलो प्राथमिकतामा राखिने भएको छ । यस पटकको महोत्सवमा चितवनको तोरी र मौरी पालन व्यवसायलाई प्रतिबिम्बित गरिने आयोजकले जानकारी दिएको छ ।

उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवन मुख्य प्रवर्द्धक रहेको उक्त महोत्सव निजी र सरकारी क्षेत्रको सहकार्यमा सुरु गरिएको एक नमुनाको रूपमा लिइन्छ ।

विसं. २०५३ मा पहिलो महोत्सव गर्दै गर्दा चितवनमा पोल्ट्री व्यवसाय बामे सर्दै थियो । महोत्सवकै कारण चितवनको कुखुरापालन व्यवसायले उचाइ हाँसिल गरेको दाबी गरिएको छ । उत्पादनका हिसाबले पनि कुखुरापालनले राष्ट्रिय मागको ६५ प्रतिशतभन्दा बढी आपूर्ति चितवन र आसपासका क्षेत्रबाट हुँदै आएको छ ।

पटकपटक सम्पन्न चितवन महोत्सवले जिल्लाको कृषि र पर्यटनलाई केन्द्र विन्दुमा राखेर कार्यक्रम सम्पन्न गर्दै आएको छ । यस पटक महोत्सव परिसरमै जिल्लालाई विविधताको भूमिको प्रतिनिधित्व गर्ने खालको कृत्रिम पार्क निर्माण गरिने छ भने कृषिका लागि चितवन, स्वास्थ्यका लागि चितवन, शिक्षाका लागि चितवन र बसोबासका लागि चितवन भन्ने मान्यतालाई आत्मसात् गर्दै महोत्सवको आयोजना गरिएको आयोजक मूल समितिका संयोजक चुन नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यस वर्षको चितवन महोत्सवले व्यवसायीक क्रियाकलापमा भन्दा पनि कोभिड–१९ र तत्पश्चात् विश्व परिवेशमा व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साहित भएका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको एउटा आयाम हुन सक्छ ।’’

चितवन जिल्ला बहुआयामिक विविधता भएको जिल्ला हो । यहाँको विकास र सम्भावना आन्तरिक तथा बाह्य दुवै पर्यटनका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने बताइन्छ । सरकारी र निजी क्षेत्रले समेत यहाँको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री लाई यहाँको आधार मान्दै आएका छन् । समग्र महोत्सव पनि त्यसैमा केन्द्रित रहेको बताइन्छ ।

उद्योग वाणिज्य सङ्घ चितवनमा वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठका अनुसार महोत्सवमा सात वटा विशेष स्टल, डोम र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड ईन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न सङ्घ संस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित ४५० वटा स्टलहरू रहने छन् ।

महोत्सवकै अवसर पारेर पुस २८ देखि माघ २ गतेसम्म क्याम्पाचौर नारायणगढमा फुड फेष्टिबल सञ्चालन गरिनेछ । महोत्सव अवसरमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको विकासका सम्भावनामा केन्द्रित रही विज्ञहरूको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठी सञ्चालन गरिने छन् ।

महोत्सव सम्पन्न गर्न मूल समिति, संरक्षक, सल्लाहकार समिति, स्टेरिङ समिति र विभिन्न गतिविधि केन्द्रित ३० वटा कार्यगत समिति गठन गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उक्त महोत्सवको १० दिने अवधिमा २५ करोड रुपियाँभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ ।