काठमाडौं, भाद्र २२ गते । 

काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताउनुभएको छ ।

प्रमुख साहले नेपालमा भएका सम्पदाहरू संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । इन्द्रजात्रा बारे जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रमुख साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरूको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताउनुभयो ।

प्रमुख साह भन्नुभयो, ‘‘महानगरले इन्द्रजात्रालाई काठमाडौं महानगरपालिका भित्र मात्रै नभएर नेपालभर र विश्वमा समेत गरी विश्वमा नै फैल्याउने उद्देश्य रहेको छ । देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदा हुन् । नेपाल पर्यटनमा धेरै अगाडि बढ्न सक्ने देश हो ।’’

इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको जानकारी दिनुहुँदै  उहाँले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरू पूजा गर्नमा मात्र सीमित नभई मनोरञ्जन, उत्साह र उमङ्ग र खुसीसँग जोडिएको बताउनुभयो ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरूको छुट्टाछुट्टै महत्त्व रहेको भन्दै सबै पर्वहरूलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्ने प्रमुख साहको भनाइ छ ।

‘‘नेपालमा भएका सम्पदा संरक्षण गर्नसक्यौं भने मात्रै पनि पर्यटन क्षेत्रको राम्रो विकास गर्न सक्छौँ । नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा र परम्परा पर्वहरू आफैँमा पूजा गर्ने मात्रै नभएर मनोरञ्जन, उत्साह र उमङ्ग, खुशीसँग पनि जोडिएको हुनाले संरक्षण गर्नुपर्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरूको छुट्टाछुट्टै महत्त्व रहेको छ । सबैलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्छ,’’ उहाँले भन्नुभयो ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो । उपप्रमुख डङ्गोलले इन्द्रजात्रा मनाउनका लागि भगिनीसम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो गरिसकेको भन्दै अतिथिहरू बिहीबारबाट काठमाडौं आउन थाल्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘काठमाडौं महानगरपालिकाको नेतृत्व समालेको सय दिन पुगेको छ । छोटो समयमा भए पनि इन्द्रजात्राको तयारी गरेर विदेशी पाहुनाहरूलाई पनि ल्याउने तयारी गरेका छौँ । इन्द्रजात्रामा आउने विदेशी पाहुनाहरूलाई भव्यरुपमा स्वागत गर्नेछौँ ।’’

उपप्रमुख डङ्गोलले इन्द्रजात्राको महत्त्वलाई ध्यानमा राखेर महानगरले स्थानीय सरकारको रूपमा आर्थिकदेखि जात्रा व्यवस्थापकीय कार्यमा सहकार्य गरेको बताउनुभयो । उहाँले इन्द्रजात्रालाई सभ्यभव्य र राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न सञ्चार माध्यमको मुख्य भूमिका हुने दाबी गर्नुभयो ।

‘‘महानगरपालिकाको जात्रालाई प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रियकरण गर्ने काममा अगाडि बढेका छौँ । इन्द्रजात्राको जुन महत्त्व छ महत्त्वलाई ध्यानमा राखेर महानगरले स्थानीय सरकारको रूपमा गर्नुपर्ने भूमिका गरिरहेको छ । महानगरले आर्थिक सहयोगदेखि जात्रा व्यवस्थापकीय कार्यमा सहकार्य गरिरहेका छौँ । आजदेखि सुरु भएको पर्व २९ गतेसम्म हुनेछ । जात्राको अन्तिम दिनमा महिलाहरूले रथ तान्ने प्रचलन रेहेकाे छ । त्यो दिन उपप्रमुखले रथ तान्ने कार्यमा नेतृत्व गर्ने योजना बनाएका छौँ । इन्द्रजात्रालाई सभ्यभव्य र राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न सञ्चार माध्यमको मुख्य भूमिका हुनेछ,’’ उहाँले भन्नुभयो ।

इन्द्रजात्रा कोभिडको कारण केही वर्ष मनाउन सकिएको थिएन । तर यो वर्ष भने स्वदेशी तथा विदेशी पाहुनाहरूलाई समेत बोलाएर जात्रा मनाउन लागिएको महानगरले जानकारी दिएको छ ।

जात्रा अवलोकन गर्न दक्षिण एसियाली मुलुकका राजधानी सहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनीसम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ । काठमाडौं उपत्यकामा बुधबारदेखि इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको छ ।   

-गोरखापत्र