काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बेलायती नागरिक (पुरुष)को आवरणमा नेपाली युवतीलाई ठगी गरेका ललितपुरको महालक्ष्मी नगरपालिका–१ की अञ्जली बिसुन्केलाई पक्राउ गरेको छ । 

सामाजिक सञ्जालबाट आफू बेलायती नागरिक फ्य्राङ्कलिन पाउलको परिचय दिई बिसुन्केले विभिन्न नेपाली युवतीसँग कुराकानी गर्ने गरेको खुलेको छ ।

परिचय गर्नेक्रममा अञ्जली बिसुन्केले आफ्नो बेलायती श्रीमतीको मृत्यु भइसकेको र नेपाल आएर विवाह गर्ने भन्दै युवतीलाई प्रलोभनमा पारी ठगी गर्ने गरेको पाइएको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्रसिंह राठौरका अनुसार सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत आफू एकल पुरुष रहेको र नेपाल आएर विवाह गरी बेलायत लैजाने भन्दै प्रलोभनमा पार्ने गरेको पीडितले उजुरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

साथै पक्राउ परेकी बिसुन्केले ह्वाट्सएपमार्फत ७० हजार अमेरिकी डलरबराबरको सामान पठाएकोलगायतका प्रलोभन दिई पीडितसँग १५ लाख २० हजार रुपियाँबराबरको ठगी गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो । पीडितको परिचय भने खुलाइएको छैन । 

त्यसैगरी आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने प्रलोभनमा पारी तीन जना युवाको १५ लाख रुपियाँ ठगी गर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ का ४६ वर्षीय मेघलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

क्रोएसियाको फर्निसिङ तथा माछा फार्ममा मासिक एक लाख रुपियाँमा जागिर लगाइदिने भन्दै रकम ठगी गरेको भन्दै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । 

वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा आरोपितलाई पक्राउ गर्न भनी पत्राचार गरेको थियो । सोमबार बिहान काठमाडौँको मीनभवनबाट पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभाग पठाइएको छ ।