भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले तत्काल राहत, उद्धार र पुनर्स्थापनाको चुनौती सामना गरिरहेको बेला उत्तरी छिमेकी चीनबाट विभिन्न तहमा सहयोग प्राप्त भइरहेको छ । यो सहयोग केवल सरकार–सरकारबिच सीमित नभई संस्था र दलबिचको सहयोग पनि भएको चीनको भनाइ छ । 

यसपटक भोटेकोशी विपद्पछि चीनले परम्परागत मान्यता भत्काउँदै चौतर्फीरुपमा सहयोग गरिरहेको छ।  सरकारी तथा गैर सरकारी, निजी र पार्टीगतरुपमा चीनले निरन्तर सहयोग अघि बढाएको छ। 

चीनले नेपाललाई विपद् व्यवस्थापन, राहत तथा मानवीय सहायता, विकास निर्माण, क्षमता अभिवृद्धिलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। भोटेकोशी बाढीपछि चीनले नेपाल सरकारसँग प्रत्यक्ष समन्वय गर्दै आपतकालीन राहत तथा उद्धारमा सहयोग अघि बढाएको छ। चीनबाट ५० टन राहत सामग्री, २० लाख अमेरिकी डलर नगद सहयोग, उद्धार तथा प्राविधिक टोली परिचालनलगायत सहयोग भएको छ । 

विशेषगरी बाढी तथा पहिरोबाट सडक, पुल र अन्य पूर्वाधारमा क्षति पुगेका बेला चिनियाँ पक्षबाट प्राविधिक सहयोग, उद्धारसम्बन्धी समन्वय तथा आवश्यक सूचना आदानप्रदानलाई पनि महत्व दिइएको छ। बाढीको जोखिम मूल्याङ्कन तथा पूर्वसूचना प्रणालीसँग सम्बन्धित हाइड्रोलोजिकल तथा स्याटेलाइट डेटा आदानप्रदान पनि यस्तो सहयोगको महत्वपूर्ण पक्ष हो।

यसले चीनको नेपालप्रतिको सहयोग केवल तत्काल राहत वितरणमा मात्र सीमित नभइ विपद् व्यवस्थापन, पूर्वतयारी र पुनर्निर्माणसम्म विस्तार भइरहेको संकेत गर्छ। चीनको सहयोगको अर्को महत्वपूर्ण आयाम गैरसरकारी संस्थाबिचको सहकार्य हो। चिनियाँ रेडक्रस लगायतका संस्थाहरूले नेपाली समकक्षी संस्थामार्फत राहत तथा मानवीय सहयोग अघि बढाएका छन्।

भोटेकोशी बाढीपछि चिनियाँ रेडक्रसबाट करिब २ लाख अमेरिकी डलर बराबरको सहयोग नेपाली रेडक्रसको माध्यमबाट प्रभावित क्षेत्रमा पुर्‍याउने पहल भएको छ। सरकारको औपचारिक संयन्त्रबाहिर रहेका यस्ता संस्थागत सम्बन्धले विपद्का बेला राहतलाई स्थानीय तहसम्म छिटो पुर्‍याउन सहयोग गर्छ। यसले चीन–नेपाल सम्बन्धलाई सरकारी तहबाट मात्र नभइ जनस्तर र नागरिक संस्थाबिचको सम्बन्धका रूपमा विस्तार गर्छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपालको विभिन्न राजनीतिक दलसँग नियमित रूपमा सम्पर्क, संवाद, भ्रमण, प्रशिक्षण तथा अनुभव आदानप्रदान गर्दै आएको छ। विपद्का बेला हुने मानवीय सहयोगसँगै यस्ता राजनीतिक सम्बन्धले दुई देशबिचको दीर्घकालीन समझदारीलाई थप संस्थागत बनाउने काम गर्छ।

चीनले पार्टी–पार्टी सम्बन्धलाई जनता जनता  तथा  कुटनीतिको एउटा महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्दैआएको देखिन्छ।

नेपालजस्तो बहुदलीय लोकतान्त्रिक मुलुकमा चीनले विभिन्न राजनीतिक शक्तिसँग सम्पर्क विस्तार गर्नु उसको नेपाल नीतिको महत्वपूर्ण विशेषता हो। चीनले यस पटकको विपदमा आफ्नो सहयोगको परम्परागत मान्यतालाई भत्काउँदै नेपाललाई हरेक तहबाट सहयोग गरिरहेको छ । 

नेपाल आफ्नो खास छिमेकी रहेकाले विपदमा परेकाबेला नेपालको दुःखलाई आफ्नै दुःख सम्झेर चीनले हर तरहले सहयोगको हात अघि बढाएको छ। बाढीबाट चीनमा पनि अपूरणीय क्षति भएकाबेला आफ्नो दुःखलाई विर्षेर भए पनि  नेपालको घाउमा चीनले मलहम लगाउन खोजेको देखिन्छ ।  

भूकम्पका बेला होस्, कोभिड–१९ महामारीका बेला होस् अथवा मेलम्ची बाढीका बेला—चीनले नेपाललाई विभिन्न समयमा विभिन्न माध्यमबाट सहयोग गरेका उदाहरण छन्। अहिले भोटेकोशी बाढीपछि देखिएको सहयोग पनि त्यही निरन्तरताको अर्को कडीका रूपमा लिन सकिन्छ।

भोटेकोसी बाढीपछि चीनबाट आएको सहयोगले एउटा महत्वपूर्ण सन्देश दिएको छ—नेपाल–चीन सम्बन्ध केवल व्यापार, सीमा र पूर्वाधारका विषयमा सीमित छैन, विपद् व्यवस्थापन र मानवीय सहयोग पनि यसको महत्वपूर्ण हिस्सा बन्दैगएको छ।

भोटेकोशी बाढीपछि चीनको सहयोगलाई ‘विपद्को समयमा छिमेकीको साथ’ मात्र नभइ नेपाल–चीन सम्बन्धमा विकसित भइरहेको बहुस्तरीय सहकार्यको एउटा नयाँ अध्यायका रूपमा हेरिएको छ ।