काठमाडौँ उपत्यकामा बर्डफ्लु संक्रमण देखिएपछि गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । नगरपालिकाको वडा नं. २, ३ र ४ मा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एचपिएआई) अर्थात् बर्डफ्लु संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको हो ।

संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट, अन्डा तथा दाना लगायत रोग सार्न सक्ने सामग्री नष्ट गरी सुरक्षित रूपमा डिस्पोज तथा निःसङ्क्रमण (डिसइन्फेक्सन) गर्ने कार्य भइरहेको जनाइएको छ ।

नगरपालिकाका अनुसार बर्डफ्लु पशुपन्छीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग भएकाले नियन्त्रणका लागि विशेष सावधानी आवश्यक छ । यसैलाई ध्यानमा राख्दै नगरपालिकाले पन्छीपालन फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन आग्रह गरेको छ ।

प्रवेश गराउनै परे अनिवार्य रूपमा निःसङ्क्रमण गर्नुपर्ने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै प्रयोग भइसकेका अन्डा राख्ने कागजी क्रेट पुनः प्रयोग नगर्न, फार्म प्रवेशद्वारमा चुना वा निःसङ्क्रामक औषधीसहितको ‘फुटबाथ’ राख्न तथा फार्मभित्र छुट्टै बुट र एप्रोन प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

स्वास्थ्य तथा पशु सेवा सम्बन्धी निकायहरूले सर्वसाधारणलाई संक्रमित वा मृत अवस्थामा भेटिएका पन्छी नछुन, मासु तथा अन्डा राम्ररी पकाएर मात्र प्रयोग गर्न तथा शंकास्पद अवस्था देखिए तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेका छन् ।

बर्डफ्लु संक्रमण फैलिन नदिन स्थानीय प्रशासन, पशु सेवा विभाग तथा नगरपालिकाले संयुक्त रूपमा निगरानी तथा नियन्त्रण अभियानलाई तीव्र बनाएका छन् ।