काठमाडौँ, मङ्सिर २८ गते । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही अगाडि बढाए लगत्तै प्रतिपक्षी दल एमालेका सांसदले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।

सभामुख सापकोटाले सभाको बैठक सञ्चालनका निम्ति पटकपटक अनुरोध गर्दा एमाले सांसदले नाराबाजीलाई निरन्तरता दिएका हुन् । संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न निषेध गरेको कुरासमेत सभामुख सापकोटाले अवगत गराउनुभएको छ ।

‘प्रतिनिधिसभा नियमावली, २०५७ को नियम २१ को खण्ड ख र घ का प्रावधान हामी सबैले पालना गर्नुपर्ने प्रावधान हुन्’, सभामुख सापकोटाले भन्नुभयो, ‘उल्लेखित प्रावधान पालनाका लागि पुनः अनुरोध गर्दछु ।’

प्रतिनिधिसभा नियमावलीको प्रावधान पालना गर्न सभामुख सापकोटाले पटकपटक अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले नाराबाजीलाई निरन्तरता दिएका हुन् । प्रतिपक्षी दलका सांसदको अवरोधबीच सभामुख सापकोटाले प्रक्रिया अगाडि बढाउनुभएको छ ।

यस अघिसमेत २३ भदौमा सुरु भएको संसद् अधिवेशन प्रतिपक्षी दल एमालेको अवरोध निरन्तर कायम भएपछि कात्तिक ११ मा अन्त्य भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर १६ गते मङ्सिर २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । प्रतिपक्षी दल एमालेले पहिलो बैठकमै अवरोध गरेको हो ।