हिमालयन शेर्पा क्लब काठमाडौं बेलबारी गोल्ड कपको फाइनलमा पुगेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको रोलिङ क्लब धुलाबारीलाई ३–१ गोलले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो । खेलको १६ औँ मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी पिस्टन मुतुम्वाले गोल गर्नुभयो ।

हिमालयनका कप्तान विश्वास श्रेष्ठले पोष्टमा प्रहार गरेको बल रोलिङ क्लबका गोल रक्षक मनोज प्रधानले उत्कृष्ट बचाउ गर्दै सानो डिबक्समा पञ्च गर्नुभयो । सोही बललाई कुनै गल्ती नगरी पिस्टनले जालि चुमाउनु भएको थियो । मध्यान्तरपछि हिमालयन शेर्पाले रोलिङलाई दबाबमा राख्यो । रक्षात्मक देखिएको रोलिङ क्लबविरुद्ध हिमालयनका विश्वास श्रेष्ठले खेलको ५० औँ मिनेटमा थप १ गोल गर्नुभयो ।

जापानि खेलाडी रियो नाकामुराले प्रहार गरेको बल रिवाउन्स भएर मैदानमा झर्न नपाउँदै विश्वास श्रेष्ठले बललाई जालि चुमाउनुभयो । लगत्तै २ मिनेटपछि हिमालयन शेर्पाका विसोन गुरुङले १ गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाउनुभयो ।

खेलको ५७ औँ मिनेटमा रोलिङ क्लब झापाका लागि ड्याडी वाम्बाले टिमका लागि सान्त्वना गोल गर्नुभयो । रोलिङका बबिन बोहोरालाई डिबक्स भित्र लडाएपछि रोलिङले पेनाल्टी सुटको अबसर पायो । सोही अवसरलाई ड्याडी वाम्बाले गोलमा परिणत गर्नुभयो ।

आजको खेलमा हिमालयन शेर्पाका त्रिदेव गुरुङले म्यान अफ द म्याचको उपाधिसँगै नगद ५ हजार ५ सय रुपियाँ प्राप्त गर्नुभयो । उहाँलाई सुन्दरहरैचा मोरङका नगर प्रमुख शिवप्रसाद ढकालले म्यान अफ द म्याचको उपाधि प्रदान गर्नुभयो । मङ्गलबार दोस्रो सेमिफाइनल खेल राजारानी (रारा) फुटबल क्लब धनकुटा र शसस्त्र प्रहरीको एपीएफ क्लबबीच हुनेछ ।