काठमाडौं, वैशाख ११ गते । नेपाली कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवालाई दिएको हो । 

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रमा प्राप्त भएका नाममध्ये काठमाडौं, विराटनगर र ललितपुर महानगरपालिकाका प्रमुख तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी विधान अनुसार सभापति देउवालाई प्रत्यायोजन गर्ने निर्णय भएको हो । 

त्यसैगरी बैठकले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी पदेन रहने निर्णयसमेत गरेको छ । 

बैठकले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई केन्द्रीय संसदीय समितिको सदस्यमा मनोनय गरेको छ । मुख्य सचिव पौडेलका अनुसार पार्टी विधानको धारा ३१ (१) (घ) (३) बमोजिम नेता पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गरेको हो ।