गोरखाको उत्तरी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको कारण जोखिममा परेका नौ सय ३० जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
असोज २५ गतेदेखि २८ गते ५ बजेसम्म गरिएको उद्धारको क्रममा ८७७ जना नेपाली र ५३ जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार असोज २५ गते ८७ नेपाली र ९ विदेशी गरी ९६ जनाको उद्धार गरिएको थियो । त्यस्तै, असोज २६ गते ३०९ जना नेपाली र १२ विदेशी गरी ३२१ जनालाई उद्धार गरिएको थियो ।
असोज २७ गते १५८ नेपाली र २८ विदेशी गरी १८६ जना र २८ गते बुधबारका दिन ३२७ नेपाली र ४ जना विदेशीलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा सारिएको छ ।
बाढीका कारण उत्तरी गोरखाको जनजीवन प्रभावित बनेपछि जोखिममा रहेका स्थानीय बासिन्दा तथा पदयात्रामा आएका पर्यटकलाई प्राथामिकतमा राखेर उद्धार गरिएको शर्माले बताउनुभयो ।
मनास्लु क्षेत्रमा विभिन्न स्थानमा बाढी पहिरोले सडक, पुल तथा आवतजावतका मार्गमा क्षति पु¥याउँदा पैदल यात्रा र नियमित आवागमनमा समेत कठिनाई उत्पन्न भएको थियो ।
विशेषगरी बुढीगण्डकी नदी र आसपासका खोलामा आएको बाढीले नदी किनारका बस्ती तथा पूर्वाधारमा क्षति पु¥याएपछि सुरक्षित स्थानमा पुग्न नसकेका नागरिकलाई हेलिकप्टर उद्धार गरिएको हो ।
मनास्लु क्षेत्रमा बाढीपहिरोले स्थानीय बासिन्दासँगै पदयात्राका लागि पुगेका विदेशी पर्यटकसमेत प्रभावित भएका थिए भने फर्कने चाहने पर्यटकलाई फर्कनको लागि समन्वय भइरहेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का सूचना अधिकारी भुवन ओझाको भनाइ छ ।
प्राकृतिक विपदका कारण दुर्गम क्षेत्रमा फसेका नागरिकहरूलाई सुरक्षित स्थानमा पु¥याउन हेलिकप्टर उद्धार प्रभावकारी बनेको उहाँले बताउनुभयो । यद्यपि, विपद्पछि प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन क्षतिग्रस्त संरचनाको मर्मत, आवगमन पुनःस्थापना र जोखिममा रहेका बस्तीको सुरक्षामा समेत ध्यान दिदैँ सबै संयन्त्र प्रयोग गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिकृयाहरु