बुढानीलकण्ठ, असार २ — बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को आयोजनामा "पैसाको कुरा (Money Talks)" कार्यक्रमको पहिलो संस्करण अन्तर्गत "आर्थिक ज्ञान, भोलिको सफल जीवन" भन्ने मूल नारासहित एकदिने बालमैत्री आर्थिक साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
बालबालिकाहरूमा सानै उमेरदेखि आर्थिक अनुशासन, बचतको बानी तथा जिम्मेवार वित्तीय व्यवहारको विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी बालबालिकाहरूलाई बचतको महत्व, पैसाको सही व्यवस्थापन, आवश्यक र अनावश्यक खर्चबीचको भिन्नता, जिम्मेवार उपभोग तथा भविष्यका लागि आर्थिक योजना बनाउने विषयमा आधारभूत ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रमका प्रशिक्षकहरूले व्यवहारिक उदाहरण तथा अन्तरक्रियात्मक अभ्यासमार्फत वित्तीय साक्षरताको महत्व बुझाएका थिए। सहभागी विद्यार्थीहरूले पनि आर्थिक ज्ञानले भविष्यमा व्यक्तिगत तथा पारिवारिक जीवनलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नवराज भट्टराईले आर्थिक साक्षरता आजको आवश्यकता मात्र नभई भोलिको सफल र आत्मनिर्भर समाज निर्माणको आधार भएको बताए। उनले बालबालिकाहरूलाई सानैदेखि आर्थिक सोच र बचत संस्कृतिमा अभ्यस्त बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा सीपमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए।
बुढानीलकण्ठ नगरपालिकाले शिक्षा, सीप विकास तथा बालमैत्री स्थानीय शासनलाई प्राथमिकतामा राख्दै विभिन्न नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ। "पैसाको कुरा (Money Talks)" कार्यक्रम पनि आर्थिक रूपमा सक्षम, जिम्मेवार र आत्मनिर्भर नयाँ पुस्ता निर्माण गर्ने नगरपालिकाको दीर्घकालीन अभियानको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
स्थानीय तहबाट बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले वित्तीय ज्ञानलाई व्यवहारिक जीवनसँग जोड्दै भविष्यमा आर्थिक रूपमा सचेत नागरिक तयार पार्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिकृयाहरु