काठमाडौँ, जेठ २ गते । विभिन्न कारणले गत वैशाख ३० गते स्थगन भएकामध्ये विभिन्न स्थानीय तहका मतदानस्थल अन्तर्गत १३ वटा मतदान केन्द्रमा आज निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज सप्तरीको रुपनी गाउँपालिकाको जनता मावि, हरिहरा मतदानस्थलका २ मतदान केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाडको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र र सोही पालिकाको आधाबगर माविको २ केन्द्रमा मतदान कार्य सम्पन्न भएको हो ।

राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदान स्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुनेक्रम जारी रहेको छ । आयोगकाअनुसार आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

आयोगका अनुसार जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम मावि मतदानस्थलका २ मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नगरपालिकाको नवज्योति माविका २ मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको ३ मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिकाको विजय माविको १ मतदान केन्द्र तोकिएको छ । सोहीअनुसार बाजुराको बुढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित १ मतदान केन्द्र रहेको छ । सोहीअनुसार जेठ ४ गतेका लागि तनहुँको व्यास नगरपालिकाको गाविस भवन मतदानस्थलका २ केन्द्रमा निर्वाचन तोकिएको छ ।

वैशाख ३० गते स्थगन भएकामध्ये जेठ १ गते सात मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको थियो । सो दिन जुम्लाको गुठीचौर गाउँपालिका वडा ३ को शङ्कर मावि, गज्र्याङ्कोटको १ मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा २ को जनता मावि, हरिहरा मतदानस्थलका २ मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका वडा ४ को रमालमष्टो मावि, स्युनाको १ मतदान केन्द्र, कालीकोटको पचालझरना गाउँपालिका वडा ३ को जनता मावि, खार्दुपको १ मतदान केन्द्र, बझाङको जयपृथ्वी नगरपालिका सुनी वडा ७ को सुनीपीपल चौर माविको २ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।