काठमाडौं । पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीले आईसीसी क्रिकेटर अफ दी इअरको अवार्ड जितेका छन् ।

सन् २०२१ मा अफ्रिदीले ३६ खेल खेल्दै ७८ विकेट लिएका थिए । उनी आईसीसी क्रिकेटर अफ दी इअरको अवार्ड पाउने पहिलो पाकिस्तानी खेलाडी पनि बनेका छन्।

पुरुषतर्फ पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर अजामले आईसिसी ‘ओडिआई क्रिकेटर अफ् दी इअर’ र इङल्यान्डका कप्तान जोय रुटले ‘टेस्ट क्रिकेटर अफ् दी इअर’को अवार्ड जितेका छन् ।

बाबरले सन् २०२१ मा ६ एकदिवसीय खेल खेल्दै ६७.५०को औसतमा ४ सय ५ रन जोडेका थिए । इङल्यान्डविरुद्धको एक खेलमा बाबरले १ सय ५८ रन बनाएका थिए ।

यस्तै, सन् २०२१ मा रुटले १५ टेस्ट खेल्दै ६ सतकसहित १ हजार ७ सय आठ रन जोडेका थिए। उनी एक क्यालेन्डर वर्षमा १७ सय टेस्ट रन बनाउने इतिहासकै तेस्रो ब्याट्सम्यान हुन् । यसअघि इङलिस खेलाडीका रुपमा अन्तिमपटक एलेस्टर कुकले सन् २०११ मा यो अवार्ड हात पारेका थिए।

चेन्नईमा भएको चार खेलको टेस्ट शृंखलाको पहिलो खेलमा घरेलु टोलीविरुद्ध दुई सय १८ रनको इनिङ रुटको करियरकै स्मरणयोग्य पारीका रुपमा रहेको थियो।

पकिस्तानका विकेटकिपरसमेत रहेका प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवान आईसीसी‘टी-२० क्रिकेटर अफ दी इअर’ घोषित भए ।

महिला तर्फ भारतीय क्रिकेटर स्मृती मन्धना ‘आईसीसी वुमन्स क्रिकेटर अफ दी इअर’ घोषित भएकी छिन्।