पृथ्वी राजमार्गको मुग्लिन बजार नजिकै मंगलबार दिउँसो बस दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन्। काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस मुग्लिनमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार घाइतेको स्थानीय र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। बस पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका ५ पानीधारा नजिकै दुर्घटना भएको हो। प्रहरीका अनुसार घाइते २१ जनामध्ये एक जनाको अवस्था गम्भीर छ। 

घाइतेमध्ये एक जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेज, १७ जनाको पुरानो मेडिकल कलेज र तीन जनाको मुग्लिनकै स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले बसका चालक लेखबहादुर थापालाई नियन्त्रणमा लिएको छ।