आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको बेला कैलाली, कञ्चनपुरमा नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरिएको छ। 

भारतको उत्तराखण्डस्थित उद्यमसिंह नगर जिल्लाको रुद्रपुरमा बिहीबार बसेको दुवै देशका अधिकारीको सीमापार बैठकमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरिएको हो। निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि सीमा बन्द गरेर सहयोग गर्न भारतीय पक्षले सहमति जनाएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो। 

उहाँका अनुसार निर्वाचन हुनुभन्दा २४ घण्टा पहिले नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने सहमति गरिएको छ। ‘निर्वाचन सम्पन्न भएपछिमात्रै नाका खुल्नेछ’, थापाले भन्नुभयो। यसैगरी बैठकमा सीमाक्षेत्रमा हुने समस्या र त्यसको समाधानका बारेमा कुरा उठाइएको थियो। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालको नेतृत्वमा नेपाली टोली बैठकमा गएको थियो। टोलीमा कैलालीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुख, वन डिभिजन कार्यालय, भन्सार र नापी कार्यालयका प्रमुखको सहभागिता रहेको थियो। भारतीय पक्षको नेतृत्व भने उद्यमसिंह नगरका डीएम युगलकिशोर पन्तले गर्नुभएको थियो।