सार्वजनिक जग्गाहरुको दुरुपयोग तथा अतिक्रमणका बिषय बुढानीलकण्ठ नगरपालिका भित्र हेर्दा साधारण बिषय झैँ लाग्छ। जनप्रतीनिधि आफै होस् या कुनै ठुला पदमा रहेका व्यक्ति वा स्थानिय वा राजनैतिक व्यक्ति प्राय धेरै जना सकेसम्म सार्वजनिक जग्गाहरु आफ्नो कम्पाउण्ड लगायत अन्य तरिकाले  अतिक्रमण गरेका छन्। तथापि बुढानीलकण्ठ नगरपालिकाको वडा नं. ४ ले भने सार्वजनिक जग्गा संरक्षणको अभियाननै थालेको वडाध्यक्ष श्रीराम केसीले जानकारी दिनु भएको छ। धेरै स्थानियवासी तथा नयाँ व्यक्तिहरुलाई सार्वजनिक जग्गा एवं सिमाना बारे जानकारी नहुँदा धेरै समस्याहरु आएपछि हामीले आफ्नो वडा भित्र सार्वजनिक जग्गा संरक्षणको लागि कित्ताहरु उल्लेख गरि साईनबोर्ड नै स्थापना गरेको वडाध्यक्ष केसीले जानकारी दिएका छन्।

हाललाई बुढानीलकण्ठ नगरपालिकाको वडा नं. ४ ले  सार्वजनिक जग्गा कित्ता नं. ३२१ (साविक विष्णु गा.वि.स. ५), कित्ता नं. १९२ (साविक विष्णु गा.वि.स. ४.१) र कित्ता नं. २८९ (५.ख.१) मा जग्गाको विवरणसहितको साईनबोर्ड राखिएको हो। यसको माध्यमले उक्त जग्गाहरू सार्वजनिक स्वामित्वमा रहेको स्पष्ट हुने र यसलाई अतिक्रमणबाट जोगाउन मद्दत पुग्ने अपेक्षा रहेको छ। यो कार्यक्रम कार्तिक २४ गते सञ्चालन भएको हो। कार्यक्रममा वडा नं. ४ का प्रतिनिधि, सार्वजनिक जग्गा तथा सरकारी सम्पत्ति संरक्षण र उपयोग समिति, प्राविधिक टोली र नगर प्रहरीले सहभागिता जनाएका थिए। नगरपालिकाको यस पहलले सरकारी सम्पत्तिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको  छ।