प्रदेश सभा निर्वाचनको लागी काठमाण्डौ क्षेत्र नं ५ ख मा नेपाली काङ्ग्रेस र एकिकृत समाजवादी दुवैको उम्मेदवार मैदानमा हुने भएका छन्। निर्वाचन आयोगले निकालेको उम्मेदवारहरुको अन्तिम नामावलीमा नेपाली काङग्रेसका श्याम खड्का र नेकपा एसका बालकृष्ण श्रेष्ठ दुवैले उम्मेवारी फिर्ता नलिएपछि दुवै दल आपसमा भिड्ने स्थितिमा पुगेका हुन्। गठबन्धनको अर्को दल माओवादी केन्द्रको भने उम्मेदवार यो क्षेत्रमा छैनन्।

दिपक निरौला सेफ जोनमा!

प्रदेश सभामा गठबन्धन नहुनुको प्रत्यक्ष लाभ भने नेकपा एमालेका दिपक निरौलालाई हुने देखिएको छ। निरौलाले गत चुनावमा ३५ सयको अन्तरमा चुनाव जितेका थिए। यो पटक गठबन्धन हुँदा चुनौति हुने देखिएपनि उनलाई केही राहत मिलेको छ।

चुनौति बन्दै स्वतन्त्र उम्मेदवार

२ जना स्वतन्त्र उम्मेदवार प्रमुख दलका लागी चुनौत बन्न सक्छन। जगन्नाथ लामिछाने र कृष्ण बहादुर तामाङ प्रदेश सभामा स्वतन्त्र उम्मेदवार भएका छन्। जगन्नाथ लामिछानेले लालटिन चुनाव चिन्ह पाएका छन् भने कृष्ण तामाङले जेब्रा पाएका छन्। ५’ख’ को माथिल्लो भुगोलमा परिचित कृष्ण तामाङले पनि राम्रो भोट ल्याउन सक्ने आकलन छ। उनले तटस्थ मतदाता र कम्युनिष्ट मत उल्लेख्य पाउन सक्ने सम्भावना छ। त्यस्तै, जगन्नाथ लामिछानेले ५ ख को तल्लो बेल्टको तटस्थ मतदाता र उदार लोकतान्त्रिक मत धेरै पाउन सक्छन।