युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ ।

सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो । 

मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले घरबाटै अफिसको काम गर्न आह्वान गर्नुभयो । नेपालमा केही सस्तोमा बिक्री गर्नका लागि पेट्रोल डिजेल मट्टीतेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र  सोको  सूचना  राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो ।

मन्त्री रावलले भन्नुभयो– ‘विश्व बजारमा इन्धनको मूल्य बढेको छ, नेपालमा केही सस्तोमा बिक्री गर्नका लागि पेट्रोल डिजेल मट्टीतेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र  सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ । मूल्य समायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन । त्यसैले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको छ । पेटोलियम पदार्थ खपत नियन्त्रण गर्नका लागि आइतबार सार्वजनिक बिदा, शैक्षिक संस्था वैशाख १५ बाट सुरु हुने, थोक बिक्री नियन्त्रण, उच्चपदस्थको इन्धन कोटा कटौती, गरिसकिएको छ । आवश्यक परे जोर विजोर लागु गरिने छ । सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनहरूको प्रयोग बढाउन आग्रह गर्छ ।’

मन्त्री रावलका अनुसार सरकारले दीर्घकालीन रूपमा विद्युतीय गाडीको कानुनी व्यवस्थापन अघि बढेको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको बताउनु भयो । इभी पूर्वाधार विस्तारमा सरकार प्रतिबद्ध रहेको बताउँदै रावलले सरकार पारदर्शी रहेको र सत्य नलुकाउने, जनताको पीडा बुझ्ने समेत बताउनुभयो ।