काठमाडौं, असार ५ गते। एक महिनादेखिको तयारी। तामझामका साथ उम्मेदवारी घोषणा। निर्वाचनका लागि करौडौं खर्च। एक महिनादेखि प्यानलका छुट्टाछुट्टै सम्पर्क कार्यलय। एक आपसमा आरोप प्रत्यारोप। जिल्ला दौड र मतदातालाई प्रभाविक बनाउने योजना। साथमा निर्वाचन जितेमा फुटबल विकासका लागि लामो खाका तयार। 

नेपाली राजननीतिमा देखिने माथि उल्लेखित प्रवृत्ति नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा पनि लागू भएको देखिन्छ। असार ६ गते सोमबार हुने एन्फा केन्द्रीय निर्वाचनका प्रत्यासी उम्मेदवारको तडक भडक र चुनावी प्रचार देख्दा ठूला राजनीतिक दललाई माथ दिने खालको छ। 

एन्फामा चार वर्षे नयाँ कार्यकालको लागि सोमबार (भोलि) हुन लागेको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी  दिनुभएको छ। अध्यक्ष पदका लागि शेर्पा र नेम्वाङ समूहसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेलसमेत चुनावी मैदानमा हुनुहुन्छ। स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत पौडेलको प्यानल छैन। 

गणेश थापा (हाल फिफाबाट १० वर्ष प्रतिबन्ध) को २१ वर्षे कार्यकालको चरम विरोध गर्दै ‘चेन्ज एन्फा अभियान’ मा लागेका शेर्पा र नेम्वाङले चार वर्ष अघिको निर्वाचनमा एउटै समूहबाट चुनाव जित्नुभएको थियो। शेर्पा र नेम्वाङ अहिले  चुनावी मैदानमा एकले अर्कोलाई सिध्याउने खेलमा लाग्नु भएको छ। शेर्पा पक्षले एक महिनादेखि कोटेश्वरमा छुट्टै सम्पर्क कार्यलय खोलेर चुनावी प्रचार सुरु गरेको थियो। नेम्वाङ पक्ष खुमलटारमा सम्पर्क कार्यलय खोलेर चुनावी अभियानमा सक्रिय बन्यो।

 तामझाका साथ उम्मेदवारी घोषणा गरेका दुवै पक्ष शनिबारदेखि मतदातालाई होटलमा राखेका छन्। शेर्पा पक्षले आफ्ना मतदातालाई शिवपुरीमा र नेम्वाङ पक्षले गोदावरीमा लगेर राखेको छ। आफ्ना मतदातालाई अर्को पक्षले प्रभाव र दबाबमा नपारोस् भन्नेमा दुवै पक्ष सजक देखिन्छन्।

 नेम्वाङ पक्ष शेर्पा पक्षलाई भष्टाचारदेखि फुटबलका नाममा व्यक्तिगत स्वार्थमा लागेकोले आफ्नो पक्षको जित सुनिश्चित भएको दाबी गरिरहेको छ। यता शेर्पा पक्षले नेम्वाङ पक्षलाई फुटबलको नाममा फिफाले प्रतिबन्ध लगाएको मानिसको बुई चढेर पूरानै प्रवृत्ति निम्त्याउन लागेको भन्दै फुटबल विकासका लागि आफूले सुरु गरेका काम पूरा गर्न आफ्नो पक्षले जितेर छाड्ने बताउँदै आएको छ। 

शेर्पाले नेपाली फुटबललाई व्यवस्थित, व्यावसायिक र सफल बनाउन तथा पुराना काम र योजनालाई यथार्थमा परिवर्तन गर्न फेरि मैदानमा उत्रिएको बताउनुभयो। यस्तै नेम्वाङले फुटबल विकासका लागि सामूहिक नेतृत्व, पारदर्शीता र विधिको शासनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको र जित सुनिश्चित भएको बताउनुभयो। नेम्वाङ पक्षलाई थापाको सर्मथन रहेको छ। 

अध्यक्ष पदमा तीन जना चुनावी मैदानमा रहँदा एक वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुला सदस्य पदका लागि ३५ र दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। शेर्पाको समूहबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, चार उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिनुभएको छ।

  १३ सदस्यका लागि अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनीष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठोर, रूपेश अधिकारी, विनोद लामा तामाङ, दीपक थापा क्षेत्री, प्रवीणकुमार यादव, रामराज गुरुङ, मणिराज विष्ट, टीका लामा र महिलातर्फ पेमा डोल्मा लामा र विना श्रेष्ठ हुनुहुन्छ। 

यसैगरी नेम्वाङ समूहबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र सुन्दर नरसिंह जोशीले उम्मेदवारी दिनुभएको छ। 

खुला सदस्यमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकासनारायण श्रेष्ठ, रविन्द्र चन्द, दीपेन्द्र धिमाल, प्रवीण सुवाल र तपेश्वरकुमार राउत तथा महिला सदस्यमा वृन्दा देवान र सरला श्रेष्ठले उम्मेदवारी दिनुभएको छ।

 सोमबार बिहान बूढानीलकण्ठस्थित पार्क भिलेजमा सोमबार हुने निर्वाचनले आगामी चार वर्षका लागि एन्फाको २१ सदस्सीय कार्यसमिति चयन गर्नेछ। जसमा लागि एन्फामा आवद्ध ४७ जिल्ला, ‘ए’, ‘बी’, ‘सी’ डिभिजन क्लब, खेलाडी, प्रशिक्षक रेफ्री संघ र महिला समितिका ८४ प्रतिनिधिले मत दिनेछन्।

 एन्फा नेपाली खेलकुदकै चचर्चित र चलायमान संस्था हो। विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट ठूलो आर्थिक सहयोग प्राप्त हुने एन्फालाई नेपाल सरकार र स्थानीय निकायको समेत ठूलो सहयोग गर्ने गरेको छ। निजी क्षेत्रको लगानी र प्रायोजनको दृष्टिले पनि फुटबल रोजाइको संघ हो। एन्फालाई सन् १९७१ मा एएफसी र १९७२ मा फिफाले मान्यता दिएको थियो। 

सन् १९५१ मा स्थापना भएको एन्फामा कमल थापा पहिलो अध्यक्ष हुनुभयो। त्यसपछि स्वर्गीय रुक्म शम्शेर राणा, गणेश थापा र नरेन्द्र क्षेष्ठ हुँदै वर्तमान अध्यक्ष शेर्पाले एन्फाको नेतृत्व सम्हाल्नुभयो। सोमबारको निर्वाचनले एन्फाको छैटौं अध्यक्ष चयन गर्नेछ।साभार गोरखापत्र