काठमाडौं, जेठ २१ गते । नेपालका विख्यात जात्राहरूमध्ये एक हो भोटोजात्रा । करुणामयको रथको खटजलमा उभी पुरानो रत्नजडित भोटो सर्वसाधारणलाई चारै दिशाबाट देखाएपछि यो वर्षको मछिन्द्रनाथको जात्रा समाप्त हुने गर्छ ।

यो परम्परा मध्यकालको अन्तिम समयतिर प्रचलनमा आएको संस्कृतिविद् हरिराम जोशीको भनाइ छ । जोशीका अनुसार यो जात्रा प्रचलनमा आउनुमा एक इतिहास रहेको छ ।

उहाँ भन्नुहुन्छ, “कर्काेटक नाग रानीको आँखा दुखेछ । कर्काेटक नाग टौदहमा विराजमान हुनुहुन्छ भन्ने विश्वास छ । नागले आफ्नी श्रीमतीको आँखा सञ्चो गराउन वैद्य खोज्दै हिँड्नुभएको थियो रे ।” नाग मानिसको रूप धारण गरेर नागपोखरीबाट बाहिर निस्किएर वैद्यको खोजीमा हिँडे । एउटा किसान आफ्नो खेतमा काम गर्दै थिए । त्यसक्रममा नागराजले यी नै वैद्य हुन् भन्ने सोचेर उनैलाई बोकेर नागलोकमा लगे । तर किसानसँग वैद्य विद्या आउने थिएन । डराएका किसानले आफ्नो शरीरबाट पसिना आएको मैलो मिचेर रानीको आँखामा लगाइदिए । त्यसले रानीको आँखा सञ्चो भयो । त्यसपछि नागराज खुसी भएर पत्थर र हिरामोतीहरु जडित अमूल्य भोटो उपहार दिए । भोटो बोकेर किसान फेरि धर्तीमा फर्किए । एकदिन किसान खेतमा काम गर्न भोटो लगाएर गए । 

खेतको काम गर्दा गर्मी भएपछि भोटो खोलेर किसानले आलीमा राखे । त्यो बेलामा भूतले भोटो चोरेर लग्यो । किसानले काम गरेर फर्किंदा आलीमा आफ्नो भोटो देखेन र दुःखी भएर घर फर्के । भोटोको माया किसानले मारिसकेका थिए तर मछिन्द्ननाथको जात्रामा भूतले त्यही भोटो लगाएको किसानले देखेछन् । किसानले आफ्नो भोटो भूतसँग मागे तर भूतले यो मेरो भने । दुईबीच विवाद सुरु भयो । त्यसपछि त्यहाँ भेला भएका मानिसहरुले जसले आफ्नो हो भन्ने प्रमाण जुटाउन सक्छ त्यसले भोटो लैजान पाउने भनेर मच्छिन्द्रनाथलाई चढाए । तर किसान र भूत दुबैले भोटो आफ्नै हो भन्ने प्रमाण जुटाउन सकेनन् । यसरी आजसम्म पनि हरेक वर्ष जात्राको अन्तिम दिन भोटो कसैको हो भने प्रमाण जुटाएर लिन भोटो चारै दिशामा देखाउने चलन रहेको जोशी बताउनुहुन्छ ।

नेपालका उत्तर प्राचीनकालीन अभिलेखहरूमा पनि सत्य बोल्ने साक्षीको अत्यावश्यकता रहँदै आएको छ । मध्यकालीन नेपालको न्याय व्यवस्था पनि भोटोको प्रदर्शन गर्ने परम्परा प्रचलनमा आएको घटनाले न्याय व्यवस्थामाथि जोड दिएको जोशीले बताउनुभयो ।

प्राचीन कालको परम्परानुसार कुनै पनि विवादको निर्णय लिन गाह्रो परेमा झगडियाहरूलाई देवताको अगाडि राखी शपथ लिन लगाउने चलन छ । सोही परम्परानुसार करुणामयको त्यस जात्रामा स्वयं राजासमेत सवारी भई ती दुवैजना झगडियाहरूलाई आ–आफ्ना प्रमाण पेश गरी शपथ लिने भनिएको थियो । तर, तिनीहरूले देवताको अगाडि आई त्यस भोटोलाई आफ्नै हो भनी किरिया खाने साहस गर्न सकेनन् । यसरी भोटो मछिन्द्रनाथकै जिम्मामा रह्यो र वर्षेनि त्यस भोटोको हकदार कोही भए अगाडि आओ भनी त्यसलाई प्रदर्शित गर्ने परम्परा प्रचलित भयो । यसरी यो भोटो जात्राको परम्पराले मध्यकालीन नेपालको न्याय व्यवस्थालाई झल्काएको जोशीको भनाइ छ ।