पोखरा, असोज ९ गते । पोखरा महानगरपालिकामा फोहोरबाट बायोग्यास र प्राङगारिक मल उत्पादन उद्योग सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–३२ स्थित मजुवामा १६ जना युवाले ३० करोड लगानीमा स्थापना गरेको गण्डकी ऊर्जा प्रा.लिले बायोग्यास र प्राङ्गारिक मल उत्पादन सुरु गरेको हो ।

घरायसी फोहोेरलाई मोहोर बनाउँदै ग्यास र मल उत्पादन गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको थियो । उद्योगबाट हाल दैनिक करिब छ सय किलो बायोग्यास उत्पादन हुने गरेको प्रालिका प्लान्ट म्यानेजर निमेशकुमार झाले बताउनुभयो । जर्मनी प्रविधिमा आधारित जर्मनी, इटली, अमेरिका, भारतबाट समेत विभिन्न मेसिनसहितका निर्माण सामग्रीबाट उक्त उद्योग सञ्चालनमा ल्याएको झाले
जानकारी दिनुभयो ।

डेढ वर्षदेखि सञ्चालित उद्योगले ग्यासको साथमा प्राङ्गारिक मलसमेत उत्पादन गर्दै आएको छ । उद्योग पूर्ण रूपमा सञ्चालन हुँदा दैनिक पाँच टन प्राङ्गारिक मल उत्पादन हुने उहाँले बताउनुभयो । उद्योगबाट उत्पादन भएको मल उद्योगबाट किसानलाई थोक मूल्य प्रतिकेजी २५ रुपियाँमा बिक्री गर्दै आएको र खुद्रा मूल्य ३० रुपियाँमा बिक्री गर्ने गरेको म्यानेजर झाले बताउनुभयो ।

प्रालिले कुहिने फोहोर पोखरा क्षेत्रमा नपाएका कारण हाल नवलपुरसम्म पुगेर ल्याउने गरेको छ । पोखराबाट निस्कने फोहोरलाई वर्गीकरण नगर्दा बाहिरी जिल्लाबाट फोहोर ल्याएर ग्यास र मल उत्पादन गर्दै आएको छ । कम्पनीले कुहिने फोहोरलाई ढुवानीसहित प्रतिकेजी एक रुपियाँ दिन्छ । यो प्यानमा हामी अहिले सुरुको फेजमा छौँ, हाल दैनिकजसो छ सय किलो बायोग्यास मात्र उत्पादन गर्न सक्षम भएका छौँ, उहाँले भन्नुभयो ।

प्रतिदिन सहज ढङ्गबाट ४५ टन फोहोर प्राप्त भएमा दैनिक दुई सय सिलिन्डर ग्यास उत्पादन गर्न सकिने र बजारको कुनै अभाव नभएको सञ्चालकको भनाइ छ । गाईको गोबर, कुखुराको सुली, प्रेसमड, कुहिने कुनै प्रकारका फलफूल, तरकारी, झारपातको साथमा पानीसमेत हालेर मेसिनबाट डाइजेस्टरमा पठाएर मिथानोजेन्स ब्याक्टेरियामार्फत बायोग्याँस उत्पादन हुने म्यानेजर झाले बताउनुभयो ।

-गोरखापत्र