सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लाको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको विशेष टोलीले मिति २०८३ साल असार २२ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो।

सुरक्षा टोलीले शङ्कास्पद अवस्थामा फेला परेका ती व्यक्तिहरूको खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध डाइजेपाम, प्रोमेथाजिन हाइड्रोक्लोराइड र बुप्रेनोर्फिन गरी जम्मा ६०० एम्पुल बरामद गरेको छ। नेपालमा पूर्ण रूपमा प्रतिबन्धित गरिएका यी इन्जेक्सनजन्य लागूऔषध सीमापारिबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको हो।

पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको स्थानीय निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। खुला सीमाको फाइदा उठाउँदै हुने यस्ता अवैध कारोबार र लागूऔषध ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी र कडा चेकिङलाई अझ तीव्र पारिएको सुरक्षा स्रोतले उल्लेख गरेको छ।