काठमाडौं — काठमाडौं महानगरपालिका–१०, बानेश्वरबाट अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन २१ गते राति करिब ९ बजे प्रहरी टोलीले बानेश्वर क्षेत्रमा शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरू अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वर बस्दै आएका ३० वर्षीय नबिन पौडेल तथा सोही स्थानका १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेका छन्।
1xBet मार्फत सट्टेबाजीको कारोबार
प्रहरीका अनुसार पक्राउ परेकाहरूले 1xBet Application मार्फत अनलाइन सट्टेबाजी गर्ने तथा गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले उक्त माध्यमबाट दुई लाख छ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।
यसैगरी, उनीहरूले USDT लगायत विभिन्न अभौतिक मुद्राको कारोबारसमेत गरेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा ७९,०६८.६५ USDT बराबरको कारोबार भएको र यसको नेपाली मूल्य करिब एक करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ १० पैसा रहेको खुलेको छ।
त्यस्तै, उनीहरूको साथमा १,५०१.३२ USDT अर्थात् करिब दुई लाख २८ हजार ८३५ रुपैयाँ ७० पैसा बराबरको मौज्दात फेला परेको प्रहरीले जनाएको छ।
पाँच थान मोबाइल बरामद
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट पाँच थान मोबाइल फोनसमेत बरामद गरेको छ। बरामद सामग्री तथा कारोबारसम्बन्धी विवरणका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध सट्टेबाजी गर्न वा गराउन नहुने तथा अभौतिक मुद्राको कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिकृयाहरु