बागलुङको जैमिनी नगरपालिका –४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ। बिहान ७ बजे शान्तिपूर्ण रूपमा मतदान सुरु भएको जनता माविमा दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको हो ।

हस्ताक्षरविना मतदान भएको हल्ला भएपछि एक समूह मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेको अधिकृत कृष्णप्रसाद ढकालले बताउनुभयो । अहिले मतदान स्थगित भएको छ, मतदान अधिकृत ढकालले भन्नुभयो, “अहिले मतदानस्थल प्रहरीको नियन्त्रणमा छ। हामी पनि मतदान भित्रै छौं। मत च्यात्नेहरू मतदानस्थल बाहिर छन्।’ 

कति सङ्ख्यामा मतपत्र च्यातिएको हो भन्ने एकीन हुन बाँकी रहेको उहाँले बताउनुभयो । मतपत्र च्यातिएपछि होहल्ला हुँदा केही मतपेटिकामा पनि हालेको हुन सक्ने आशंका गरिएको छ ।

मतदान अधिकृत ढकालले हल्ला भएजस्तो हस्ताक्षरविनाको मतपत्र नरहेको बताउँदै पुनः मतदान सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारीमा गरिएको उहाँले बताउनुभयो । 

मतदान अधिकृत ढकालले मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा रहेको र उहाँहरूको सल्लाह बमोजिम अगाडि बढ्ने बताउनुभयो ।