ताप्लेजुङ, चैत १७ गते । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शुक्रबारको परीक्षा ताप्लेजुङमा शान्तिपूर्ण वातावारणमा सम्पन्न भएको छ । जिल्लाभरका परीक्षा केन्द्रमा निर्धारित समयमा परीक्षा सुरु भएर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो । 

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका अनुसार एसईई परीक्षा सञ्चालनका लागि १६ वटा केन्द्र तोकिएका छन् । परीक्षा सञ्चालनका लागि निर्धारण भएका १६ वटै केन्द्रमा पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।

यसबाहेक पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको र ४९ जना परीक्षार्थी (विद्यार्थी) भने अनुपस्थित भएका भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्ला भरका परीक्षा केन्द्रमा दुईहजार १२१ जना परीक्षार्थी सहभागी हुनुपर्नेमा दुई हजार ७४ जनाले मात्र परीक्षामा सहभागिता जनाएका छन् । 

पहिलो दिन ग्रेटवृद्धिका मात्र नभई नियमिततर्फका परीक्षार्थीसमेत अनुपस्थित भएको पाइएको उहाँले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार ताप्लेजुङमा यस वर्षको एसईईमा नियमिततर्फका एक हजार ९५२ जना परीक्षार्थी छन् । त्यस्तै ग्रेडवृद्धितर्फ ६६ र प्राविधिक धारतर्फका १०३ जना परीक्षार्थी छन् । 

पहिलो दिन अनुपस्थित रहेकामध्ये नियमित, ग्रेडवृद्धि र अन्य तर्फका के–कति सङ्ख्या हो भन्ने खुलिनसकेको इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो । 

-गोरखापत्र