ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. कार्कीको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।

कात्तिक १५ गते न्यायाधीश डा. कुमार चुडालको इजलासले मेडिकल काउन्सिलको निर्वाचित सदस्यलाई लाभको पद भन्न नमिल्ने भनी उम्मेदवार कार्कीको पक्षमा अन्तरिम आदेश दिएको थियो ।

सोही आदेशलाई निरन्तरता दिँदै न्यायाधीश खतिवडा र श्रेष्ठले उम्मेदवार ताेसिमा लाभको पदमा बहाल रहेको भनी मान्न नमिल्ने निष्कर्ष निकाल्नुभएको छ।

आदेशमा लेखिएको छ, ‘‘नेपालको संविधानको धारा ८७ (१) (ङ) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ (ङ) को प्रयोजनका लागि ‘लाभको पदमा बहाल रहेको’ भनी मान्न मिल्ने देखिएन ।’’

उम्मेदवार तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले सर्वोच्चमा निवेदन दर्ता गराएको थियो ।