क्यानडाको मध्य सिस्काचुवान प्रान्तमा भएको छुरा प्रहारको घटनामा परी १० जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

यस घटनाका पीडितहरु विभिन्न १३ स्थानमा फेला परेका छन् । प्रहरीले ३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको आशंका गरेको छ ।

घटनाका दुबै शंकास्पद अपराधी अहिले फरार रहेको प्रहरीले जनाएको छ । फरार अभियुक्तहरु हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको प्रहरीको भनाइ छ ।

छुरा प्रहारका अभियुक्तहरु फरार रहेकाले सो क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । अपरिचित व्यक्तिको सवारी साधन प्रयोग नगर्न र शंकास्पद गतिविधि गरेको पाइए प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ । अपराधीहरु कालो रंगको निसान गाडीमा रहेकाले सो गाडी देखिए टाढा रहन र प्रहरीलाई जानकारी गराउन भनिएको छ।

-नेपालटिभी