काठमाडौँ, श्रावण २५ गते । 

ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’मा यस पटक युवा कलाकार राजप्रकाश तुलाधर देखिनुभयो । तीन दशकदेखि परम्परागत पौभा कलामा सक्रिय कलाकार तुलाधरको कला यतिबेला ठमेल स्थित म्युजियम अफ नेपाली आर्ट (मोना म्युजियम) मा संचालित छ । 

कलाकार तुलाधरले नेपालमा प्रचलित तन्त्रमा आधारित देवी देवताका १५ थान चित्रहरु प्रदर्शनीमा राख्नु भएको छ । तन्त्र साधनामा प्रयुक्त देवीहरु विशेषतः बज्रबाराही, खडग योगिनी, विजेश्वरी गुह्येश्वरी र आकाश जोगिनीलाई कलाकारले प्रमुखता दिनुभएको छ । यसका साथै प्रदर्शनीमा कलाकारले ‘चैत्य’ प्रतिस्थापन कलालाई पनि प्रदर्शनीको विशेष आकर्षणका रुपमा प्रस्तुत गर्नुभएको छ । 

‘कलाका कुरा’ मा कलाकारले आफ्नो कला यात्राबारे बताउँदै नेपाली कलालाई नेपालमै पाउन गाह्रो रहेको परिपेक्षमा विदेशीले आएर अनुसन्धान गरिदिनुपर्ने अवस्था रहेको बताउनु भयो । 

नेपाली कला र संस्कृति विस्तारै लोप हुँदै गएको र नेपाली कलाको खोज अनुसन्धानका लागि विदेश नै पुग्नुपर्ने अवस्थालाई आफ्नो कला प्रदर्शनीमा समेटेको बताउनु भयो । नेपाली कला र सम्पदा विस्तारै अँध्यारोमा बत्ती बालेर खोजे जस्तै गर्नुपर्ने अवस्थालाई उहाँले आफ्नो प्रतिस्थापन कलालाई अँध्यारोमा रहेको कुरालाई प्रतीकात्मक रुपमा देखाउनु भएको छ । 

काठमाडौँको नरदेवीमा जन्मनु भएका कलाकार तुलाधर सानैदेखि नेवार संस्कृति र कलासँग एकाकार हुनु भएको थियो । यसै कारण पनि उहाँको कलामा नेपाली सुगन्ध र कलामा मौलिकता झल्किएको पाउन सकिन्छ ।

नेपाली थाङ्का, पौभाको माग विदेशमा बढी रहेकाले नेपाली कलाकारको कला नेपालमा पाउन गाह्रो रहेकाले नेपाली दर्शकका लागि नेपालमा प्रदर्शनी गरिएको जानकारी जानकारी दिनुभयो । 

प्रदर्शनीमा रहेका उहाँका १३ थान कलाकृति 'मोना' म्युजियमले संकलन गरेको छ । कलाकार तुलाधरको यो एकल कला प्रदर्शनी नेपालमा पहिलो रहेको बताउनुभयो । यद्यपि यस अघि ७ पटक चाइनामा उहाँको एकल कला प्रदर्शनी सम्पन्न भइसकेको छ । नेपालमा विभिन्न ग्यालरीका साथै मठ मन्दिर र चैत्य स्तूपाहरुमा उहाँले कला सृजना गर्नु भएको छ । उहाँको ५ थान पौभा कलाहरु 'रुविन म्युजियम' अमेरिकामा संग्रहीत छन् । 

दर्शकले कला अवलोकन मात्र गर्न पाउने तर खरिद बिक्रीका लागि नरहेको म्युजियममा निर्देशक राजन शाक्यले जानकारी दिनुभयो । नेपाली कलालाई बचाउने र नेपालमै रोक्ने अभियानका रुपमा म्युजियमले कार्यक्रमहरु अघि बचाएको शाक्यले बताउनु भयो । प्रदर्शनी भदौ १५ गते सम्म संचालनमा रहने छ ।

-गोरखापत्र