होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ताइवानसँगको लामो समयदेखिको होन्डुरसको आधिकारिक सम्बन्ध विच्छेद हुनेछ ।

राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री एडुआर्डो रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिनुभएको छ । राष्ट्रपति क्यास्ट्रोले चुनावी अभियानको क्रममा गत साता आफ्नो सरकारले चीनसँग जलविद्युत् बाँध निर्माणका निम्ति  वार्ता गरिरहेको घोषणा गर्नुभएको थियो ।

होन्डुरस सरकारले ताइपेईसँग आधिकारिक रूपमा सम्बन्ध तोडेको हो कि भन्नेबारे तत्काल टिप्पणी भने गरेको छैन । यद्यपि बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध राख्न सक्दैनन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनवीनले एक चीन सिद्धान्तका आधारमा चीन होन्डुरस र विश्वका अन्य देशहरूसँग मैत्री एवम् सहयोगात्मक सम्बन्ध विकास गर्न बेइजिङ सधैँ इच्छुक रहेको बताएका छन् ।

ताइवानलाई आधिकारिक रूपमा मान्यता दिने १४ देशमध्ये होन्डुरस एक हो । स्वशासित टापु ताइवानलाई चीनले आवश्यक भएमा बल प्रयोग गरेर आफ्नो मुख्यभूमिमा विलय गराउनसक्ने बताउँदै आएको छ ।  चीनको एक राज्य दुई नीतिअन्तर्गत ताइवानमा शासन सञ्चालन भइरहेको छ ।

यसैबीच, बेइजिङले बुधबार होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयको स्वागत गरेको छ । प्रवक्ता बाङले “हामी होन्डुरसको सान्दर्भिक वक्तव्यको स्वागत गर्दछौँ,” नियमित पत्रकार सम्मेलनमा भनेका छन् । रासस/एएफपी