सङ्गीतसम्बद्ध सात संस्थाले सङ्गीतकार सुरेश अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरेका छन् ।

गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, प्रस्तोता समाज, सङ्गीत उद्योग सङ्घ, सङ्गीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र रोयल्टी सङ्कलन समाजले संयुक्त विज्ञप्ति जारी गर्दै रोयल्टी सङ्कलन समाजका अध्यक्ष अधिकारीविरुद्ध रेडियो प्रसारकले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।

ती सङ्घ/संस्थाले रेडियो प्रसारक तीन संस्थाले लगाएको उक्त प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै खेदसमेत प्रकट गरेका छन् ।

ती संस्थाले यही साउन ४ गते रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक सङ्घले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् ।

प्रतिबन्धको निर्णयलाई फिर्ता नलिए स्रष्टा र कलाकारका साङ्गीतिक सिर्जनाको प्रसारण रोक्न बाध्य हुने सङ्घ/संस्थाको भनाइ छ ।

सङ्गीतकार सुरेश अधिकारीले रेडियो/टिभीमा गीत बजेवापत गीत-संगीतका स्रष्टाहरुले रोयल्टी पाउनुपर्ने आवाज उठाउँदै आएका छन् । उनको यस अभियानप्रति उल्लिखित तीन संघ-संस्थाहरु चिढिएका छन् ।