काठमाडौं, फागुन १५ गते । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी परेको छ । गैंडाकोट क्षेत्रमा बलात्कार भएको भन्दै पीडित नाबालिका गायिकाले इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरमा अर्को किटानी जाहेरी दिनुभएको हाे । आज (आइतबार) दिउँसो आफन्तहरूसहित ती गायिका प्रहरी कार्यालयमा पुग्नुभएको छ ।

चार दिनअघि मात्र उहाँ विरुद्ध तनहुँमा बलात्कार आरोपमा उजुरी परेको हो । नाबालिक गायिकाकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै सम्पर्कमा नआएका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गर्नु भएकाे थियाे । अहिले पल प्रहरी हिरासतमै हुनुहुन्छ ।

जाहेरीमा ७ चैतमा गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ गते गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिनुभएको हो । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो ।