काठमाडौँ, माघ १२ गते । उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने नभएको पाइएको छ । सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको तीन दिनभित्र सिटामोल सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने भनाइ उत्पादकहरूको छ ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आ–आफ्नो जिल्लामा गर्नुभएको अनुगमनमा सिटामोलको अभाव नभएको पाइएको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पछिल्ला चार÷पाँच दिनदेखि बजारमा सिटामोलको अवस्थाबारे अनुगमन गर्दा सञ्चारमाध्यमबाट बाहिरिएको हल्ला यथार्थ नभएको दाबी गर्नुभयो ।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले मङ्गलबार ललितपुरका विभिन्न ठाउँमा अनुुगमन गर्ने क्रममा सिटामोल नै नपाउने अवस्था नरहेको बताउनुभयो । मङ्गलबार पाटन, सुमेरु, अल्कालगायतका अस्पताल र मङ्गलबजारका फार्मेसीमा सिटामोलको उपलब्धताबारे अनुगमन गरिएको जानकारी गराउँदै उहाँले भन्नुभयो– “सिटामोलको आपूर्तिमा केही समस्या रहेछ । स्टक कम छ तर सिटामोल नै नभएको अवस्था छैन, एक पाता सिटामोल लगभग सबैजसो फार्मेसीमा पाइन्छ ।”
आमउपभोक्तालाई उपलब्ध सिटामोल कसैले मागे जति दिने र कसैले पाउँदै नपाउने अवस्था नआउने गरी बिक्री वितरणको व्यवस्था मिलाउन फार्मेसी सञ्चालकलाई निर्देशन दिएको प्रजिअ उपाध्यायले बताउनुभयो । सिटामोल वितरणको विषयमा बदमासी गरे वा नगरेको विषयमा अप्रत्यक्ष रूपमा निगरानी बढाइने पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै, भक्तपुरका प्रजिअ रुद्रादेवी शर्माले भक्तपुरका अस्पताल र आसपासका क्षेत्रमा पर्याप्त मात्रामा नभए पनि सिटामोल नपाउने अवस्था नभएको दाबी गर्नुभयो । भक्तपुरमा सिटामोल भएर पनि नदिने औषधि पसलमा सूक्ष्म रूपमा निगरानी बढाइएको जानकारी उहाँले दिनुभयो । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएजस्तो ज्वरो आएकाले सिटामोल नपाउने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– “भक्तपुर अस्पतालमा परिषद्द्वारा सञ्चालित फार्मेसीमा जानुहोस्, सिटामोल पाइन्छ ।”

काठमाडौँका सहायक प्रजिअ दीपक पौडेलले काठमाडौँको त्रिपुरेश्वर, थापाथली, बानेश्वर अनामनगरलगायतका क्षेत्रमा गरिएको अनुगमनमा सिटामोल नपाइने अवस्था नरहेको बताउनुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधि, औषधि व्यवस्था विभागका प्रतिनिधि, पत्रकार, उपभोक्ता अधिकारकर्मीलगायतको उपस्थितिमा गरिएको अनुगमनमा सिटामोल सहज पाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा सिटामोल मात्रै नहेरेर अन्य औषधिको मूल्य, औषधि पसलमा रहेकाले स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको, औषधि पसलमा म्याद नाघेका औषधि भए÷नभएको पनि अनुगमन गरिएको छ । उहाँले स्वास्थ्य मापदण्ड पालना नगर्ने धेरै पाइएकाले स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

‘अब सिटामोल अभाव हुँदैन’

औषधि व्यवस्था विभागका निर्देशक सन्तोष केसीले नेपाल औषधि लिमिटेडले विगत चार दिनदेखि दैनिक तीन लाखका दरले सिटामोलका ट्याब्लेट उत्पादन गर्न थालेकाले अब अभाव नभएको दाबी गर्नुभयो । विभागले एक औषधि उत्पादक कम्पनीको स्थलगत निरीक्षण गर्दा उक्त औषधिको कच्चा पदार्थको मौज्दात एक हजार २३७ केजी वा करिब २४ लाख चक्की बजारमा बिक्री वितरणका लागि पठाएको जनाइएको छ । विभागका अनुसार चार लाख ४९ हजार चक्की उत्पादनका क्रममा रहेको, २० लाख चक्की बजारमा गइसकेको छ ।

यस अवधिमा कच्चा पदार्थ १७ हजार केजी अर्थात् करिब तीन करोड चक्की बनाउन पुग्ने विवरण प्राप्त भएको छ । साथै विभागले स्वदेशी तथा विदेशी औषधि उत्पादकसँग यो औषधि बनाउने आवश्यक कच्चा पदार्थ र तयारी औषधिको विवरण माग गरेकोमा हालसम्म १५ हजार ७६५ केजी सिटामोलको कच्चा पदार्थ पाइएको छ । अबको तीन दिनभित्र सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने छ, निर्देशक केसीको भनाइ छ ।

२३४ जनालाई जरिवाना

ललितपुरका प्रजिअ उपाध्याय नेतृत्वको अनुगमन टोलीले कोरोनाको मापदण्ड पालना भए÷नभएको विषयमा पनि अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा मास्क नलगाएका २३४ व्यक्तिलाई जनही सय रुपियाँका दरले जरिवाना गरिएको जनाइएको छ । ‘