काठमाडौँको भृकुटीमण्डपमा हुने आठौँ घरजग्गा मेलाको तयारी पूरा भएको छ । पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौँ घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा आवास विकास सङ्घले जनाएको हो ।

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष विदुर धमलाले मेला १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने र मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले मेला बिहान १० देखि बेलुका ६ बजेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले क्रेता र बिक्रेताहरूका लागि यो मेला महत्त्वपूर्ण र लाभदायी हुने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखेर मेला सञ्चालन गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष धमलाले यस पटकको मेलामा पनि डेढ लाखसम्म अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा लिएको बताउनु भयो । उहाँले मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैङ्क फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी लगायतका स्टलहरू रहने बताउनुभयो ।

अध्यक्ष धमलाले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुङ्गा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताउनु भयो । उहाँले यस वर्ष २ अर्ब ५० करोड रुपियाँभन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताउनुभयो ।