नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्न पाँच जनाले अन्तर्वार्ता दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षक पदका लागि खुला आवेदन माग गरेको थियो । क्यानले आवेदन परेको २४ जना प्रशिक्षकबाट पाँच जनाको सर्टलिस्ट गरी अन्तर्वार्ता लिएको हो ।

प्रशिक्षकका लागि अन्तर्वार्ता दिनेहरुमा भारतीय मोन्टी देशाई, नेपालकै पूर्व प्रशिक्षक देभ ह्वाटमोर श्रीलङ्का तीव्र गतिका बलर धाम्मिका प्रसाद, दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्यान्डका पूर्वप्रमुख प्रशिक्षक ग्लेन पोकनल रहेको क्यानले जनाएको छ । 

अन्तर्वार्ता दिएका पाँच जनामध्येबाट अन्तिममा एक जनाको नाम केही दिनमा सार्वजनिक गरिने क्यानले जनाएको छ । नेपालले अर्को महिना घरेलु मैदा कीर्तिपुरमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ ।

नेपाल, नामिबिया र स्कटल्यान्डबीच हुने सिरिजअघि नेपाली टोलीले नयाँ प्रशिक्षक पाउनेछ । क्यानले एकमहिना अघिमात्र भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई हटाएपछि नेपाली टोली प्रशिक्षकविहीन थियो ।