नेपालमा यो वर्ष दुई हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । 

सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । 

स्क्रब टाइफस सबैभन्दा बढी बैतडीमा २१०, डडेल्धुरामा १५७, कञ्चनपुरमा १३४, पाल्पामा ११३, सङ्खुवासभामा १०१, चितवनमा ८४ र काठमाडौंमा ४४ जनामा पुष्टि भएको छ । अन्य जिल्लामा एक सयभन्दा कममा स्क्रब टाइफसका बिरामी भेटिएको डा. दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार हरेक वर्ष यो मौसममा स्क्रब टाइफसका बिरामी देखिने गर्दछन् । गत वर्ष ५० भन्दा बढी जिल्लाबाट १७ सय ७३ जनामा स्क्रब टाइफस पुष्टि भएको उहाँले बताउनुभयो ।  

के हो स्क्रब टाइफस

डा. दाहालका अनुसार स्क्रब टाइफस “ओरिन्सिया सुसुमासी” जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किराको टोकाइबाट मानिसमा सर्छ । यो जीवाणु मुसाको शरीरमा पाइन्छ । सङ्क्रमित किराले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्छ । 

यदि समयमा उपचार गरिएन भने यसले गम्भीर रूप लिन सक्ने चिकित्सकहरूको भनाइ छ ।  स्क्रब टाइफसलाई बेवास्ता गरेमा मस्तिष्क, कलेजो, फोक्सो आदिको सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिस्फंक्सन) को अवस्था आउँछ । 

डा. दाहालका अनुसार उच्च ज्वरो आउने, आँखा रातो हुने, धेरै टाउको दुख्ने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग देखिने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, खोकी वान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुने स्क्रब टाइफसका मुख्य लक्षणहरू हुन । 

स्क्रब टाइफसलाई बेवास्ता गरेमा मस्तिष्क, कलेजो, फोक्सो आदिको सङ्क्रण र कहिलेकाही बहुअङ्ग विकार (मल्टी अर्गन डिस्फंक्सन) को अवस्था आउँछ । 

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजंगल जाँदा लामो बाहुला भएको कपडा र जुत्ता लगाउने र शरीरको खुल्ला भागमा कीटनाशक मलमको प्रयोग गर्दा यसको टोकाइबाट बच्न सकिने डा. दाहालको भनाइ छ ।  

घर वरिपरिका खेतबारीमा घाँसहरू धेरै बढ्न नदिने र घर वरिपरिको वातावरण सफा राख्न, मुसा नियन्त्रण गर्न उपयुक्त किसिमले अन्न भण्डारण गर्ने डा. दाहालले सुझाव दिनुभयो ।