नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी, डिजिटल उद्योग, स्मार्ट उत्पादन र प्रतिभा विकासलाई केन्द्रमा राख्दै ‘विस्तारित ब्रिक्स’ सहकार्यका लागि पाँच महत्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ।
ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति सीले विस्तारित ब्रिक्सले विश्वमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले उदीयमान बजार तथा ग्लोबल साउथसँगको ब्रिक्सको सम्बन्धलाई प्रभावकारी रूपमा उपयोग गर्दै पारस्परिक लाभ र साझा जितका लागि खुलापन तथा सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, औद्योगिक तथा आपूर्ति शृंखला स्थिर राख्दै एकीकृत बजारको विकासलाई प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ।
राष्ट्रपति सीले नवप्रवर्तनका लागि इन्क्युबेटर स्थापना, परम्परागत उद्योगको स्तरोन्नति, उदीयमान उद्योगको विकास तथा भविष्यका उद्योगका लागि दूरदर्शी योजना निर्माणमा जोड दिनुभयो।
प्रविधि, नवप्रवर्तन र प्रतिभा विकासमा सहकार्यलाई थप सुदृढ गर्दै उदीयमान प्रविधिको माध्यमबाट साझा समृद्धिको बाटो फराकिलो बनाउनुपर्ने उहाँले आह्वान गर्नुभयो।
रासस/सिन्ह्वा

प्रतिकृयाहरु